
डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीकेदार धाम शक्तिपीठमा यहीँ कार्तिक १६, १७ र १८ गते बृहत धार्मिक मेला आयोजना हुने भएको छ। मेलाको सफल सञ्चालनका लागि १९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
मंगलबार सम्पन्न छलफल बैठकबाट दीपेन्द्रराज सिराडीको संयोजकत्वमा समिति सर्वसम्मत रूपमा गठन गरिएको हो। समितिको उप–संयोजक खडक बोहरा, सदस्य–सचिव बलबहादुर बुढा तथा सह–सचिव खेमबहादुर सिराडी रहेका छन्।

त्यसैगरी सदस्यहरूमा चक्र मल्ल, मोहन मल्ल, वीरबहादुर पाल, लोकेन्द्रबहादुर बोहरा, नवीन चन्द, टेकबहादुर बोहरा, कर्णबहादुर बोहरा, भक्तबहादुर बोहरा, उदयसिं रावल, भरतबहादुर साउद, सुदिप बम, टेक बम, नर बलायर, योगेश धामी र गणेश बोहरा चयन भएका छन्।

समितिका संयोजक सिराडीले बृहत मेलालाई सफलतापूर्वक सम्पन्न गर्न सबैको सक्रिय सहयोग र सहभागिता आवश्यक रहेको बताउँदै, मेलाका तयारी कार्यमा समितिका सबै सदस्यहरू जुट्न तयार रहेको जानकारी दिनुभयो।
मुख्य पुजारी सिद्धराज बिनाडीका अनुसार, धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण बडीकेदार धामको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ। यही कारणले प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजन यहाँ आउने गरेका छन्।
‘ठुलाकेदार’ नामले समेत परिचित बडीकेदार धाम समुद्री सतहबाट करिब २,८०० मिटर उचाइमा अवस्थित छ। यहाँ नेपालका विभिन्न जिल्लासँगै भारतका तीर्थयात्रीहरू समेत आउने गर्छन्। थारू समुदायसहित विभिन्न आस्थाका श्रद्धालुहरूले कथा, पूजा, व्रतबन्ध, मुण्डन, विवाहजस्ता शुभ कार्यहरू पनि यहीँ सम्पन्न गर्ने गर्छन्।
बडीकेदार धाम पुग्नका लागि कैलालीको सहजपुरबाट डोटीको विपी नगर, खँड्यौली बजार र अत्तरकाँडा बजार हुँदै पार्किङ स्थलसम्म सवारी साधन जान सकिन्छ। त्यहाँबाट करिब सवा घण्टाको पैदल यात्रापछि बडीकेदार धाम पुग्न सकिन्छ।



