
डोटी, —डोटीको शिखर नगरपालिका–३ मा रहेको भवानी माध्यमिक विद्यालयमा शुक्रबार वडा स्तरीय बालकचहरी कार्यक्रम सम्पन्न भएको छ। गुड नेवर्श इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा भएको उक्त कार्यक्रममा बालबालिकाले भोगिरहेका समस्या, चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल गरेका थिए।
कार्यक्रम भवानी माविको समन्वयमा संचालन गरिएको थियो। सहभागी बालबालिकाले खेलमैदानको अभाव, खेल सामग्री, सुरक्षित घेरवार, बालमैत्री वातावरण र बालबालिकासम्बन्धी छुट्याइने बजेटसम्बन्धी महत्वपूर्ण प्रश्नहरू उठाएका थिए।


विद्यालयका प्राध्यापक गणेश कठायतले विद्यालयमा गुणस्तरीय शिक्षा र भौतिक विकासका लागि सरोकारवालासँग निरन्तर समन्वय भइरहेको जानकारी दिए। त्यसैगरी वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश जोराले विद्यालयमा निशुल्क कोचिङ कक्षा संचालन भए पनि विद्यार्थी उपस्थित नहुने समस्या रहेको उल्लेख गर्दै विद्यार्थी स्वयंले जिम्मेवारीपूर्वक अवसरको उपयोग गर्नुपर्नेमा जोड दिए।
जोराले विद्यालयमा आवश्यक कम्प्युटर उपलब्ध भए पनि प्रायोगिक अभ्यासका लागि विद्यार्थीले पहल देखाउनुपर्ने र असन्तुष्टि तथा मागहरू गुनासो पेटिकामा राख्न सकिने बताए। बाल संरक्षणसम्बन्धी केही कमीकमजोरी स्वीकार गर्दै, बालबालिकाका मुद्दामा आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि जनाए।
कार्यक्रमका प्रमुख अतिथि गुड नेवर्श इन्टरनेशनल नेपाल डोटी क्लस्टर को–अर्डिनेटर तेजप्रसाद शर्माले बाल संरक्षण, बालविवाह रोकथाम र बालश्रम न्यूनीकरणका लागि समुदाय, अभिभावक र विद्यालयले समान रूपमा सहयोग गर्नुपर्नेमा जोड दिए। उहाँले विद्यालयको भौतिक संरचना सुधारका लागि आयोजनाले निरन्तर सहयोग गर्दै आएको जानकारी पनि दिनुभयो।
कार्यक्रम सामुदायिक विकास केन्द्र डोटीमा कार्यरत एकीकृत सामुदायिक विकास परियोजनाका कार्यक्रम अधिकृत लक्षण देउवाले सञ्चालन गर्नुभएको थियो।



