
डोटी। डोटीको जोरायल गाउँपालिका वडा नम्बर–६ का स्थानीय बासिन्दाले खोलामा पक्की पुल निर्माण गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्ने बताएका छन्।
वर्षौंदेखि पक्की पुल नहुँदा दैनिक जीवनमै समस्या झेल्दै आएका स्थानीयले पटक–पटक हुने निर्वाचनमा उम्मेदवारहरूले भोट माग्ने तर चुनाव जितेपछि जनसमस्यातर्फ फर्केर नहेर्ने गरेको गुनासो गरेका छन्। यही कारण यसपटक उनीहरूले ठोस प्रतिबद्धता खोजेको बताएका हुन्।

बहुचर्चित धनगढी–खुटिया–दिपायल द्रुतमार्ग अन्तर्गत पर्ने जोरायल गाउँपालिका वडा नम्बर–६ को जारिमघाट क्षेत्रमा खोलामाथि पक्की पुल निर्माण गरिदिन स्थानीयको मुख्य माग छ। सो पुल नहुँदा बर्खायाममा यातायात पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ।
भौगोलिक रूपमा जोरायल गाउँपालिका वडा नम्बर–५ र ६ दुर्गम मानिन्छन्। बर्खायाममा सवारी साधन नचल्दा स्थानीयको जनजीवन कष्टकर बन्ने गरेको छ। पटक–पटक पुल निर्माणका लागि आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि स्थानीयले आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारहरूले पुल निर्माणको स्पष्ट प्रतिबद्धता गर्नुपर्ने बताएका छन्।
स्थानीयका अनुसार समस्या पुलमा मात्र सीमित छैन। टेलिफोन तथा मोबाइल नेटवर्कको गम्भीर समस्या रहेको छ। रातिको समयमा बिरामी पर्दा खबर गर्न नसक्दा ज्यानै जाने जोखिमसमेत रहेको उनीहरूको भनाइ छ। एम्बुलेन्स सेवा नहुँदा समस्या झनै बढेको छ।
त्यसैगरी बर्खायाममा सडक अवरुद्ध हुँदा स्थानीयले उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्याउन नसक्दा बारीमै कुहिएर जाने अवस्था आउने गरेको छ। यी सबै समस्याको दीर्घकालीन समाधानका लागि यसपटकको निर्वाचन निर्णायक बन्नुपर्ने स्थानीयको जोड छ।



