
डोटी — जिल्लाको बडिकेदार गाउँपालिकामा लागु पदार्थ दुरुपयोग, छाउपडी प्रथा तथा बालविवाह न्यूनीकरणसम्बन्धी ३ दिने सचेतनामूलक तथा किशोरी आत्म–सुरक्षा कार्यक्रम सुरु भएको छ।

फागुन ०६ गतेदेखि ०८ गतेसम्म बर्छैन माध्यमिक विद्यालय, बर्छैनमा सञ्चालन हुने उक्त कार्यक्रम समता विकास नेपाल, डोटीका प्रतिनिधि रोशन कोलीको सभाध्यक्षतामा तथा बडिकेदार गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।
कार्यक्रममा सहभागी किशोरीहरूलाई लागु पदार्थ दुरुपयोगका नकारात्मक असर, छाउपडी प्रथाबाट हुने स्वास्थ्य जोखिम, बालविवाहका कानुनी तथा सामाजिक प्रभावबारे जानकारी दिइनुका साथै आत्म–सुरक्षासम्बन्धी व्यवहारिक अभ्यास समेत गराइएको आयोजकले जनाएको छ।
स्थानीय तहमा विद्यमान सामाजिक विकृति तथा कुप्रथा न्यूनीकरण गर्दै किशोरीहरूलाई सचेत, आत्मविश्वासी र सुरक्षित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको आयोजना बडिकेदार गाउँपालिका, डोटीले गरेको हो भने सहजीकरण समता विकास नेपाल, डोटीले गरेको छ।


