

डोटी – बडीकेदार गाउँपालिका ले दृष्टि फाउण्डेशन, नेपाल की अध्यक्ष कल्पना भट्ट लाई सम्मान–पत्र प्रदान गरेको छ।
सुदूरपश्चिम प्रदेशमा साहाराविहीन, शारीरिक तथा मानसिक समस्याले पीडित तथा कष्टकर अवस्थामा जीवनयापन गरिरहेका व्यक्तिहरू तथा अनाथ बालबालिकाको उद्धार, संरक्षण र पुनर्स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गाउँपालिकाले अध्यक्ष भट्टलाई सम्मान गरेको हो।
फाउण्डेशनले असहाय तथा अनाथ बालबालिकाका लागि आवास, भोजन, स्वास्थ्य उपचार तथा शिक्षाको व्यवस्था गर्दै उनीहरूलाई सामान्य तथा सम्मानजनक जीवनतर्फ अग्रसर गराउने कार्य गरिरहेको अध्यक्ष भट्टले जानकारी दिइन्।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदले कठिन परिस्थितिमा पनि मानव सेवामा समर्पित व्यक्ति नै सच्चा अर्थमा महान् हुने उल्लेख गर्दै पालिकाले यस्ता सामाजिक संघसंस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
गाउँपालिकाले दृष्टि फाउण्डेशन, नेपालको उत्तरोत्तर प्रगति तथा अध्यक्ष कल्पना भट्टको सुस्वास्थ्य र दीर्घायुको कामना समेत व्यक्त गरेको छ।


