
हेमन्त जोशी , कैलाली
सामाजिक क्षेत्रमा सक्रिय हेमा श्री फाउन्डेशन नेपालले आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा २५ जना विपन्न, अभिभावकविहीन तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
फाउन्डेशनले अमर माध्यमिक विद्यालय, जुपिटर स्कुल, बिणा विद्या मन्दिर, कैलाली भिजन स्कुल र भैरव आधारभूत विद्यालयमा अध्ययनरत ५/५ जना विद्यार्थीलाई झोला, कापी तथा कलम वितरण गरेको जनाएको छ। आर्थिक रूपमा कमजोर तथा अभिभावकको सहारा नपाएका बालबालिकालाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमका सभापति तथा कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले स्थापना भएको छोटो अवधिमै फाउन्डेशनले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको बताए। उनले दोस्रो स्थापना दिवसलाई अझ अर्थपूर्ण बनाउन विद्यार्थीलाई सहयोग गरिएको उल्लेख गर्दै भने, “अभिभावकविहीन तथा विपन्न बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन सहयोग गर्नु हाम्रो प्राथमिकता हो। आगामी दिनमा अझ व्यापक रूपमा सामाजिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्नेछौं।”

कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले फाउन्डेशनको कार्यको प्रशंसा गर्दै यस्ता पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए। “छोटो समयमै यस्तो महत्वपूर्ण कार्य गर्नु सराहनीय छ। यसले अन्य संस्थालाई पनि प्रेरित गर्ने विश्वास लिएको छु,” उनले भने।विशिष्ट अतिथिका रूपमा वडा नं. ६ का अध्यक्ष टेक बहादुर बोगटीले स्थानीय तहले यस्ता सामाजिक संस्थासँग सहकार्य गर्दै विपन्न समुदायको उत्थानमा अझ प्रभावकारी भूमिका खेल्ने बताए।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले फाउन्डेशनको कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
फाउन्डेशनले विगत दुई वर्षदेखि गरिब, असहाय तथा अवसरबाट वञ्चित समुदायलाई लक्षित गर्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक सहयोगका क्षेत्रमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा फाउन्डेशनको वार्षिक कार्यप्रतिवेदन प्रस्तुत गर्दै स्वागत मन्तव्य सभाध्यक्ष हेमन्त राज जोशी (बाजे) ले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव चक्रजित रावलले गरेका थिए।
दोस्रो स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रमले फाउन्डेशनको सामाजिक उत्तरदायित्वलाई थप सुदृढ बनाउनुका साथै समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ। साथै, आगामी दिनमा अझ बढी विद्यार्थी तथा समुदायलाई सहयोग पुर्याउने लक्ष्यसहित संस्थाले आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


