जोरायल चनकट्टे श्रृङ्गारिक महाआरती धर्म जागरण सत्संग महा महोत्सव–२०८३’ भव्य रूपमा सुरु

मन्त्रालय सन्देश १
घण्टेश्वर क्याम्पस भर्ना २०८३

डोटी। डोटीको जोरायल गाउँपालिका–३ चनकट्टेस्थित ऐतिहासिक श्री चण्डेश्वर महादेव मन्दिर परिसरमा “जोरायल चनकट्टे श्रृङ्गारिक महाआरती धर्म जागरण सत्संग महा महोत्सव–२०८३” शनिबारदेखि धार्मिक उल्लासका साथ भव्य रूपमा सुरु भएको छ। श्रावण १५ गतेसम्म सञ्चालन हुने महोत्सव श्री चण्डेश्वर महादेव मन्दिरमा अक्षयकोष स्थापना तथा मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो।

महोत्सवको पहिलो दिन शनिबार बिहान कलश यात्रासहित धार्मिक वातावरणमा कार्यक्रमको शुभारम्भ गरिएको थियो। त्यसपछि आयोजित उद्घाटन समारोह आयोजक समितिका अध्यक्ष डिल्लीराज जोशीको सभापतित्वमा सम्पन्न भएको थियो। समारोहमा जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने प्रमुख कथा वाचक पण्डित आचार्य सन्तोष भण्डारीको विशेष प्रवचन रहेको थियो। कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीयवासी तथा ठूलो संख्यामा धर्मप्रेमी श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पोषण खाजा सम्बन्धि सन्देश
जिल्ला वन डोटी

महोत्सवमा भारतको काशी विश्वनाथ मन्दिर तथा नेपालको राष्ट्रदेव पशुपतिनाथ मन्दिरमा गरिने विश्वप्रसिद्ध श्रृङ्गारिक महाआरतीको झल्को प्रस्तुत गरिने आयोजकले जनाएको छ। साथै महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरूद्वारा भजन–कीर्तन, आध्यात्मिक प्रवचन, धार्मिक झाँकी प्रदर्शन, बाल संस्कार कार्यक्रम तथा विविध धार्मिक एवं सांस्कृतिक गतिविधिहरू सञ्चालन गरिनेछन्। समाजमा नैतिक मूल्य, धार्मिक चेतना र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले धर्म जागरणसम्बन्धी विशेष कार्यक्रमहरू समेत आयोजना गरिनेछन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि यस्ता महोत्सवहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले श्री चण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटनको आकर्षक केन्द्रका रूपमा विकास गर्न गाउँपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै धर्म, संस्कृति र सामाजिक एकतालाई सुदृढ बनाउने अभियानमा सबै पक्षको साझा सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रमका महानिर्देशक तथा जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझाले ऐतिहासिक श्री चण्डेश्वर महादेव मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वलाई राष्ट्रिय स्तरसम्म परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँले महोत्सवले स्थानीय धार्मिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा भावी पुस्तामा धार्मिक संस्कार हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै साताव्यापी कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन सम्पूर्ण धर्मप्रेमी श्रद्धालु तथा देश–विदेशमा रहेका जोरायलबासीलाई हार्दिक आग्रह गर्नुभयो।

श्रद्धा, भक्ति, संस्कृति र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको यो साताव्यापी धार्मिक महोत्सवले डोटीको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.