
डोटी — सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रमुख प्रवेशद्वारका रूपमा परिचित डोटीको बुडर बजारलाई व्यवस्थित, सफा र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले नयाँ बुडर बजार व्यवस्थापन समिति गठन गरिएको छ।
बुधबार बुडर बजार क्षेत्रका व्यवसायीहरूको आमभेलाले लालबहादुर मल्लको अध्यक्षतामा १५ सदस्यीय बजार व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गरेको हो।

समितिको उपाध्यक्षमा दिनेश साउँद, सचिवमा अर्जुन महरा, सहसचिवमा सुरेन्द्र बिष्ट र कोषाध्यक्षमा चन्द्रबहादुर मल्ल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा भक्त लामा, भुवन नागरी, जन्तरा धानुक, कस्मिर सिजापती, सनम थापा, गौरी साउँद, राजेन्द्र ओझा, बालकृष्ण बोहरा र लक्ष्मी रावल बोहरा रहेका छन्। समितिको एक सदस्य भने पछि मनोनयन गरिने जनाइएको छ।

भेलामा सहभागी व्यवसायीहरूले यसअघि गठन भएको बजार व्यवस्थापन समिति लामो समयदेखि निष्क्रिय रहेकाले बजार व्यवस्थापन प्रभावकारी बनाउन नयाँ समिति गठन गर्न आवश्यक भएको बताएका थिए।
यसैगरी रामदत्त भट्टराई, हेम मल्ल, ईश्वरीप्रसाद जैसी, पदम चन्द र देवराज जोशी सदस्य रहेको पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।
समिति गठनपछि प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै नवनिर्वाचित अध्यक्ष लालबहादुर मल्लले सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै बुडर बजारलाई व्यवस्थित, स्वच्छ र आकर्षक बनाउने दिशामा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै जोरायल गाउँपालिका–२ का वडा अध्यक्ष वीरबहादुर दर्लामीले समितिको नाम बुडर बजार व्यवस्थापन समिति भए पनि वडाभित्र रहेका सबै साना–ठूला बजार क्षेत्रको अभिलेखीकरण, दर्ता, नवीकरण, सरसफाइ तथा आवश्यक व्यवस्थापनमा समेत सक्रिय भूमिका निर्वाह गर्न सुझाव दिए।
वडा अध्यक्ष दर्लामीले बजार व्यवस्थापन समिति नहुँदा हालसम्म विभिन्न समस्या समाधानको जिम्मेवारी वडा कार्यालयले नै बहन गर्दै आएको उल्लेख गर्दै अब समितिको गठनसँगै बजार व्यवस्थापनका कामहरू थप व्यवस्थित र सहज हुने विश्वास व्यक्त गरे।



