
तामागिरि मालिका डोटिको सायल र बझाङको सिमानामा रहेको छ । प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वका हिसाबले मिनि बडिमालिका भनेर चिनिएको यो ठाउँ प्रचारप्रचारको अभावमा पछाडि परेको छ ।झट्ट हेर्दा मिनी बडिमालिका जस्तै देखिने तामागिरी मालिकाबाट बझाङ जिल्लाको सैपाल हिमाल संगै भन्ज्याङका टाकुराहरु टल्किरहेका देखिन्छन् ।
मालिकाको पश्चिम तिर हेर्दा दार्चुला जिल्लामा पर्ने अपि हिमाल टिङ्कर भन्ज्याङका टाकुराहरु देख्न सकिन्छ । त्यस्तै पुर्व तिर हेर्दा डोटी जिल्लामा पर्ने खप्तड राष्ट्रिय निकुञ्जका फाँटहरू र दक्षिणतर्फ सेती नदि र डडेलधुरा जिल्लाका अनगिन्ती रमणीय दृश्यहरु देखिन्छन ।
मनै लोभ्याउने ठाउँको दृश्य संगै मालिका यात्राको क्रममा बाटोमा हरिण र कस्तुरी लगाएतका जङ्गली जनावर र चराचुरुङ्गीहरू देख्न सकिन्छ । विभिन्न प्रजातिका फूलहरू संगै यहाँ सेतो गुराँस पनि पाइन्छ ।समुद्री सतहबाट करिब २७६५ मिटर उचाइरहेको यस मालिकाबाट प्याराग्लाइडिङ पनि उच्च सम्भावना रहेको देखिन्छ ।यस सुन्दर र पबित्र भुमिले राज्य र आम नागरिकको उपस्थितिको प्रतीक्षा गरेको छ ।


