डोटीको बडीकेदार गाउँपालिकाले बडीकेदार धाममा लाग्ने मेलाका अवसरमा एक दिन स्थानीय बिदा दिने निर्णय गरेको छ ।
बडीकेदार गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीकेदार धाममा मंसिर ५ गतेदेखि ७ गतेसम्म मेला लाग्ने भएपछि गाउँपालिकाले मंसिर ७ गते सोमबार स्थानीय बिदा दिने निर्णय गरेको हो ।


गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै मेलाको व्यवस्थापन तथा पूजाआजालाई मध्यनजर गरी गाउँपालिकाअन्तर्गतका वडा कार्यालय, सामुदायिक शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूमा एक दिन स्थानीय बिदा दिने जनाएको छ ।उक्त दिन आकस्मिक स्वास्थ्य सेवाबाहेक अन्य नियमित सेवा बन्द रहने सूचनामा उल्लेख छ ।

गाउँपालिकाको मिति २०८३ साल कात्तिक १३ गते बसेको गाउँकार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार स्थानीय बिदासम्बन्धी सूचना जारी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक बमले बताउनु भयो ।
डोटीको बडिकेदार धाम धार्मिक आस्था, पुस्तौँदेखिको परम्परा र प्राकृतिक सौन्दर्यको अनुपम संगमका रूपमा परिचित छ। भगवान् शिवप्रतिको अटुट श्रद्धा, पवित्र शिलाको पूजा, मनोकामना पूरा हुने जनविश्वास, धामी नाच र परम्परागत जातले बडिकेदारलाई सुदूरपश्चिमको विशिष्ट धार्मिक गन्तव्यका रूपमा स्थापित गरेका छन्।



