
डोटीको जोरायल गाउँपालिका – ५ र ६ मा बाघको आतंक फैलिएको छ। बाघले केही दिन यता चराउन लगेको पशुचौपाया खाइदिन थालेको छ। हिजो बुधबार साँझ वनबाट बाख्रा चराएर घर ल्याउने क्रममा बाघले आफ्नै अगाडि बाख्रा माथि आक्रमण गरेर २ बाख्रा मारेको र एउटा बोका घाइते बनाएको जोरायल गाउँपालिका ५ बोकडाकि स्थानीय तारा देवी कठायतले बताइन ।

त्यस्तै २ हप्ता अगाडि निरौलिका किसान राम बहादुर जेठाराका ३ बाख्रा बाघले खाएको थियो । गत वर्षको फाल्गुन महिनामा वडा नम्बर ६ गाबरमा स्थानीय किसान धन बहादुर साउँदको खोरमा पसेर बाघले ९ वटा बाख्रा मारिदिएको थियो। गएको हिउँदमा जोरायल गाउँपालिका संगै बडिकेदार ,शिखर नगरपालिका , डडेल्धुराको आलिताल र गन्यापधुरा गाउँपालिकाका धेरै किसानका गाई ,बाख्रा र कुकुर बाघले मारेको स्थानीय करन साउदले जनाए ।

हिउँदको समयमा यस क्षेत्रमा बाघले धेरै आतंक मच्चाउने गरेको स्थानीय बताउछन । पछिल्लो समय बाघले चौपायमाथि आक्रमण गरेर किसानलाई आजित बनाएको जोरायल गाउँपालिका ३ का वडाअध्यक्ष नवीन ओझाले बताए। आफै गोठालो जाँदा समेत आँखा अगाडिबाट बाघले पशुचौपाया मार्न थाले पछि किसान त्रसित भएका छन ।
