
धनगढी – कैलालीमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघर क्यान्सरविरुद्धको खोप लगाउने तयारी गरिएको छ। माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत किशोरीहरूलाई विद्यालयमै पुगेर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरका अनुसार, कैलालीका सबै १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूको समन्वयमा खोप अभियान सञ्चालन गरिनेछ। यो अभियानबाट करिब ५० हजार किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ।

महिलामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १४ वर्षभित्रै यो खोप लगाउनुपर्ने भएकाले सरकारले यो अभियान सञ्चालन गरेको कुँवरले जानकारी दिए। यस अभियानले किशोरीहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।



