
डोटी — जोरायल गाउँपालिकामा एचपीभी (HPV) खोप नियमित सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले पालिका स्तरीय खोप समन्वय समिति तथा स्वास्थ्यकर्मीहरूका लागि एकदिने अभिमुखीकरण तथा कार्ययोजना कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बुधबार गाउँपालिकाको सभाहलमा आयोजना गरिएको थियो।
कार्यक्रमका बारेमा जानकारी दिँदै जोरायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द बिष्टले एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरसविरुद्धको खोप विशेषगरी किशोरीहरूलाई लक्षित गरिएको बताए। उनका अनुसार विद्यालय जाने किशोरीहरूका हकमा कक्षा ६ मा अध्ययनरत छात्राहरू तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई निःशुल्क एचपीभी खोप प्रदान गर्ने व्यवस्था गरिएको छ। उक्त खोप विद्यालय तथा स्वास्थ्य संस्थामार्फत प्रदान गरिनेछ।
बिष्टले यो खोपले विशेषगरी गर्भाशय मुखको क्यान्सरबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले अघिल्लो वर्ष छुटेका किशोरीहरूले पनि अनिवार्य रूपमा खोप लगाउनुपर्ने बताए।

कार्यक्रममा बोल्दै जोरायल गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष नवीन ओझाले एचपीभी खोप सुरक्षित तथा प्रभावकारी भएकाले लक्षित सबै किशोरीहरूले खोप लगाउनुपर्नेमा जोड दिए। उनले भविष्यमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि सबै स्वास्थ्यकर्मीहरूले आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए।
यसैबीच, नेपालमा नसर्ने रोगहरूको बढ्दो जोखिमलाई ध्यानमा राख्दै माघ महिनाभर सञ्चालन हुने नसर्ने रोग (NCD – Non Communicable Diseases) रोकथाम, प्रारम्भिक पहिचान तथा व्यवस्थापन सम्बन्धी स्क्रिनिङ अभियान अन्तर्गत जोरायल गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा NCD स्क्रिनिङ कार्यक्रम पनि सञ्चालन गरिएको छ।
जनस्वास्थ्य अधिकृत निशा खड्काका अनुसार अभियानमार्फत स्थानीय बासिन्दाहरूको रक्तचाप, मधुमेह, शरीरको उचाइ र तौलको अनुपात (BMI) तथा मिर्गौला सम्बन्धी रोगको पहिचानका लागि ३० वर्षभन्दा माथिका सबै व्यक्तिहरूको निःशुल्क परीक्षण गरिनेछ। उनले सबै नागरिकलाई आ–आफ्नो ठाउँबाट अभियानमा सहभागी भई सहयोग गर्न अनुरोध गर्दै “समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बाँचौँ” भन्ने सन्देश दिएकी छन्।
सुदूरपश्चिम प्रदेशमा संगै जोरायल गाउँपालिकामा पनि माघ २७ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने जनाइएको छ। स्वास्थ्य मन्त्रालयले सबै अभिभावकलाई आफ्ना किशोरीहरूलाई समयमै खोप लगाउन आग्रह गरेको छ।कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, पत्रकार, विभिन्न वडाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो।



