
डोटी । नेकपा (एमाले) डोटीले संगठन सुदृढीकरण र आगामी अधिवेशन तयारीका लागि वडा केन्द्रित जिल्ला दौडाहा अभियान सञ्चालन गर्दै आएको छ। पुस २१-२३ गते सम्पन्न एमाले केन्द्रीय बैठकको निर्देशन र माघ १७ गते सम्पन्न जिल्ला कमिटी बैठकको निर्णयअनुसार यो अभियान अघि बढाइएको हो।
अभियानको पहिलो चरणमा जिल्लाका ९ वटै पालिकामा तयारी बैठक आयोजना गर्ने कार्ययोजना छ। यस क्रममा, सायल गाउँपालिकामा आइतबार बैठक सम्पन्न भएको छ भने आदर्श गाउँपालिकामा सोमबार, पूर्वीचौकी गाउँपालिकामा मंगलबार र शिखर नगरपालिकामा आज बुधबार बैठक सम्पन्न भएका छन्।

त्यसैगरी माघ २४ गते के.आई.सिंह गाउँपालिका, माघ २५ गते बोगटान फुड्सिल गाउँपालिका, माघ २६ गते बडिकेदार गाउँपालिका, माघ २७ गते जोरायल गाउँपालिका र माघ २८ गते दिपायल सिलगढी नगरपालिकामा पालिका स्तरीय बैठकहरू आयोजना गरिने पार्टीले जनाएको छ ।

यी बैठकहरूमा पोलिटब्युरो सदस्य तथा डोटी इन्चार्ज गौरी ओली, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला कमिटी पदाधिकारी, निवर्तमान पदाधिकारी, प्रदेश तथा जिल्ला कमिटी सदस्य, स्थानीय नेता र कार्यकर्ताहरू सहभागी रहेको छ ।
जिल्ला कमिटी सचिव पदमराज भट्टका अनुसार अभियानका क्रममा जिल्लाभर पार्टी संगठनलाई थप सशक्त बनाउन व्यापक छलफल गरिँदैछ। विशेषत: ६५ वटै वडामा टोल र बस्ती केन्द्रित गतिविधि सञ्चालन गर्न, पार्टी नीति र सरकारका उपलब्धिहरू जनतासम्म पु¥याउने, नयाँ सदस्यता वितरण र पुराना सदस्यता नवीकरणमा तीव्रता दिने लक्ष्य लिइएको छ। यस कार्यका लागि पार्टीका विभिन्न निकाय र जनवर्गीय संगठनहरूलाई तोकिएका भौगोलिक क्षेत्रअनुसार जिम्मेवारी दिइएको छ।
गत मंसिरमा सम्पन्न जिल्ला अधिवेशनपछि रिक्त भएका पदहरू सम्बन्धित पालिका कमिटीका पदाधिकारीमार्फत व्यवस्थापन गर्ने निर्णय गरिएको छ। पार्टीले २०८१ सम्मका संगठित सदस्यहरूको आधारमा फागुन मसान्तभित्र पालिका अधिवेशन तथा चैत्र २० गतेभित्र वडा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। जनवर्गीय संगठनहरूको जिल्ला अधिवेशन फागुन मसान्तभित्र र पालिका अधिवेशन चैत्र २० गतेभित्र सम्पन्न गरिनेछ।
संगठनलाई थप व्यवस्थित बनाउन विभिन्न जिम्मेवारी तोकिएका छन्। संगठन विभाग प्रमुखमा सचिव पदमराज भट्ट, कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुखमा उपसचिव डम्मरसिं डौडी, लेखा व्यवस्थापनका लागि लेखा कमिटी अध्यक्षमा रविन्द्र जोशी तथा सदस्यहरूमा सुनलाल थापा, गणेश पार्की, दिलबहादुर बिक तोकिएका छन्। यी प्रस्तावित नामहरू जिल्ला प्रतिनिधि परिषद्को पहिलो बैठकबाट अनुमोदन गरिने जनाइएको छ।
भट्टका अनुसार, वडा र पालिका अधिवेशन सम्पन्न गरेसँगै चैत्र मसान्तभित्र जिल्ला र पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ। पार्टी संगठनलाई थप मजबुत बनाउन र सरकारका उपलब्धिहरू जनतामाझ पु¥याउने उद्देश्यसहित अभियानलाई तीव्र बनाइने उनले बताए।



