
डोटी : नेपाल कम्युनिस्ट पार्टी (एमाले) बडीकेदार गाउँपालिका कमिटी, डोटीको छैटौं विस्तारित बैठक बुधबार सम्पन्न भएको छ। गाउँपालिका कमिटी अध्यक्ष खगेन्द्र बमको अध्यक्षतामा सम्पन्न बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै आवश्यक रणनीति तथा संगठनात्मक तयारीबारे छलफल गरेको जनाएको छ।

बैठकमा निर्वाचनलाई प्रभावकारी रूपमा अघि बढाउने, संगठन सुदृढीकरण गर्ने तथा कार्यकर्तालाई सक्रिय बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ। नेकपा एमाले डोटीले जिल्लाका ९ वटै स्थानीय तहमा विस्तारित बैठक सम्पन्न गरिसकेको जानकारी दिएको छ।
२०५१ सालदेखि डोटीमा प्रमुख प्रतिस्पर्धीको रूपमा रहेको नेकपा एमालेले यसपटक नयाँ अनुहार अघि सारेको छ। एमाले निकट अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समेत रहेका ३२ वर्षीय युवा नेता दीपक धामी चुनावी मैदानमा रहेका छन्। १३ वर्षको उमेरदेखि विद्यार्थी राजनीति सुरु गरेका धामीसँग क्याम्पस स्ववियु सभापतिको अनुभव समेत रहेको बताइएको छ।



