
गौरीगंगा, कैलाली — नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै कैलालीको गौरीगंगा नगरपालिकामा पनि पार्टीको आगामी नेतृत्वलाई लिएर राजनीतिक चर्चा र बहस तीव्र बन्दै गएको छ।
नगरपालिकाका चौमालादेखि मसुरियासम्मका ११ वटै वडामा लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका हेमन्त राज जोशी ‘बाजे’को नाम सम्भावित नगर सभापतिका रूपमा चर्चामा आउन थालेको छ।
२०६० सालदेखि नेपाल विद्यार्थी संघ (नेविसंघ)मार्फत विद्यार्थी राजनीतिमा प्रवेश गरेका जोशीले त्यसपछि नेपाल तरुण दल हुँदै नेपाली कांग्रेसको वडा, गाउँ र नगर तहसम्मको संगठनात्मक यात्रालाई निरन्तरता दिँदै आएका छन्। पार्टीका विभिन्न जिम्मेवारी सम्हालिसकेका उनी नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमितिको सचिवका रूपमा दुई कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेका छन्।

लामो समयको संगठनात्मक अनुभव, कार्यकर्तासँगको प्रत्यक्ष सम्पर्क र पार्टीका विभिन्न तहमा काम गरेको अनुभवलाई जोशीको सम्भावित नेतृत्वका लागि महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
संगठनसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय
राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका जोशी युवा पुस्तामाझ परिचित मानिन्छन्। कार्यकर्तासँग निरन्तर संवाद, स्थानीयस्तरका सामाजिक गतिविधिमा सहभागिता तथा संगठन विस्तारमा देखाउँदै आएको सक्रियताका कारण पछिल्लो समय उनको नामलाई लिएर कांग्रेसभित्रै विभिन्न कोणबाट चर्चा हुन थालेको हो।

गौरीगंगामा कांग्रेसको आगामी नेतृत्वका विषयमा छलफल भइरहँदा नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने कि अनुभवी नेतृत्वलाई निरन्तरता दिने भन्ने बहससमेत सतहमा आउन थालेको छ।
बहस पदको होइन, नेतृत्व क्षमताको
गौरीगंगाको कांग्रेसमा अहिले भइरहेको बहस केवल ‘नगर सभापति को बन्ला?’ भन्ने प्रश्नमा मात्र सीमित देखिँदैन। बदलिँदो राजनीतिक परिस्थितिमा युवा पुस्ताको आवाजलाई सम्बोधन गर्ने, कार्यकर्ताको भावना बुझ्ने, वडा तहसम्म संगठनलाई थप सुदृढ बनाउने र पार्टीमा नयाँ ऊर्जा सञ्चार गर्न सक्ने नेतृत्वको आवश्यकता महसुस भइरहेको कांग्रेसका स्थानीय नेता–कार्यकर्ताको भनाइ छ।
यही सन्दर्भमा लामो समयदेखि पार्टी संगठनमा सक्रिय हेमन्त ‘बाजे’को सम्भावित दाबीलाई युवा पुस्ताको अपेक्षा र कांग्रेसभित्र देखिएको नयाँ नेतृत्वको खोजीसँग जोडेर हेर्न थालिएको छ।
यद्यपि, उनको उम्मेदवारी वा नेतृत्वको विषयमा औपचारिक निर्णय भइसकेको छैन। अन्ततः पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया, सहमति, राजनीतिक समीकरण तथा कार्यकर्ताको मतले नै आगामी नेतृत्वको टुंगो लगाउनेछ।
बनबेहडाबाट नगर नेतृत्वको सम्भावित यात्रासम्म
बनबेहडाको माटोबाट राजनीतिक तथा संगठनात्मक यात्रा सुरु गरेका हेमन्त ‘बाजे’ अब गौरीगंगा नगर कांग्रेसको नेतृत्वको दौडमा कति अगाडि बढ्छन् भन्ने विषय चासोको विषय बनेको छ।
१५औँ महाधिवेशनको तयारीसँगै गौरीगंगामा नेतृत्व परिवर्तन, पुस्तान्तरण र नयाँ राजनीतिक ऊर्जाको बहसले गति लिँदै गएको छ। सम्भावित नगर सभापतिका रूपमा चर्चामा आएका ‘बाजे’को राजनीतिक यात्रा आगामी दिनमा कुन दिशातर्फ अघि बढ्छ भन्ने विषय भने पार्टीको आन्तरिक गतिविधि र कार्यकर्ताको निर्णयले निर्धारण गर्नेछ।



