
डोटी, – नेकपा (एमाले) डोटीले संगठन सुदृढीकरण तथा आगामी अधिवेशन तयारीका लागि सञ्चालन गरेको वडा केन्द्रित जिल्ला दौडाहा अभियान तीव्र पारिएको छ। अभियानअन्तर्गत पहिलो चरणमा जिल्लाका ९ वटै पालिकामा तयारी बैठक सोमबार सम्पन्न भएको जिल्ला कमिटी सचिव पदमराज भट्टले जानकारी दिएका छन्।
तीन महिनासम्म सञ्चालन हुने अभियानअन्तर्गत सदस्यता नवीकरण र विस्तार गर्दै कुल मतदाताको ६% पुर्याउने लक्ष्य राखिएको छ। टोल तहसम्म पार्टी कमिटी गठन गर्दै कम्तीमा एक तिहाइ युवालाई नेतृत्वमा ल्याउने योजना रहेको एमालेले जनाएको छ। सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्नुका साथै पार्टी सम्बद्ध सबै जनसंगठनको सदस्यता व्यापक रूपमा विस्तार गर्दै तिनलाई आ-आफ्नो वर्ग/समुदायको प्रतिनिधि नेताका रूपमा स्थापित गरिने बताइएको छ।

सोसल मिडियामा व्यवस्थित प्रचार गर्दै पार्टीको सकारात्मक योगदानलाई स्थापित गरिनुका साथै समाजमा फैलाइएका गलत सूचनाहरू चिर्दै पार्टीको भूमिकालाई उजागर गरिनेछ। यसका लागि पार्टीका सबै तहका कमिटी तथा जनप्रतिनिधिहरूले प्रचार डेस्क स्थापना गर्ने निर्णय गरिएको छ।
घर–घर पुगेर प्रत्यक्ष जनसंवाद गर्ने, स्थानीय चासो र जनसरोकारका विषय पहिचान गर्दै विकास योजनाहरू तयार गर्ने, मिसन ०८४ अन्तर्गत एकल बहुमतको लक्ष्य राख्दै राजनीतिक ध्रुवीकरण अभियान अघि बढाउने तथा घर फर्क र पार्टी प्रवेश अभियानलाई प्राथमिकता दिने कार्य योजना रहेको एमाले सचिव भट्टले जानकारी दिए।
पार्टीका सिद्धान्त, कार्यक्रम, नीति र दृष्टिकोणमा आधारित स्कुलिङ (प्रशिक्षण) कार्यक्रम सञ्चालन गर्दै विचार र संगठनलाई सुदृढ पार्दै पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने योजना रहेको एमालेको भनाइ छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा (एमाले) को नेतृत्व अपरिहार्य रहेको सन्देश प्रवाह गरिने सचिव भट्टले बताए।





अभियानको अन्त्यमा उपलब्धि र कमजोरीको समिक्षा गरिनेछ भने नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ। वडा र टोल तहसम्म अभियानलाई तीव्र पार्ने उद्देश्यले स्थानीय नेताहरू, कार्यकर्ताहरूलाई सक्रिय रूपमा परिचालन गरिनेछ। पार्टीलाई नयाँ ढंगले जनप्रिय संगठनका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ। साथै, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई अभियानमा जोडिन आग्रह गरिएको छ।
पार्टी र सरकारले जनताको समस्या समाधान तथा समग्र डोटी विकासका लागि खेल्नुपर्ने भूमिकामा जनताको सुझाव संकलन गरिने एमालेले जनाएको छ। पार्टीका निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिइएको सचिव भट्टले बताए।
अभियानमा पालिका स्तरका कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष खगेन्द्र बैडैला, जिल्ला कमिटी सचिव पदमराज भट्ट, उपसचिव डम्बर डौडी, प्रदेश सभा सदस्य चक्र मल्ल, जिल्ला कमिटीका पुर्व पदाधिकारीहरु , अनेरास्ववियु, युवा संघ नेपाल तथा अन्य जनवर्गीय संगठनहरू संगै नेता कार्यकर्ताको सक्रिय सहभागिता रहेको सचिव भट्टले जानकारी दिएका छन्। नेकपा (एमाले) डोटीको यो अभियानले जिल्लाको राजनीतिक र संगठनात्मक सुदृढीकरणमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।



