
डोटी – नेकपा एमाले जोरायल गाउँपालिका कमिटीको दोस्रो अधिवेशन आउँदो चैत्र १६ गते हुने भएको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार वडा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय समेत गरिएको छ।

नेकपा एमाले जोरायल गाउँपालिका कमिटीको चैत्र ३ गते बसेको विस्तारित बैठकले अधिवेशनलाई सफल बनाउन विभिन्न वडाहरूमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठक अनुसार चैत्र ९ गते वडा नम्बर ६, चैत्र १० गते वडा नम्बर १, चैत्र ११ गते वडा नम्बर २, चैत्र १२ गते वडा नम्बर ४, चैत्र १३ गते वडा नम्बर ५, र चैत्र १४ गते वडा नम्बर ३ मा कार्यक्रमहरू गरिनेछ।

दोस्रो पालिका अधिवेशन आयोजक कमिटीका अध्यक्ष चित्रराज भट्टले पार्टी संगठनलाई थप मजबुत बनाउन र स्थानीय तहमा प्रभावकारी उपस्थिति जनाउन अधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्। उनका अनुसार वडा केन्द्रित कार्यक्रमहरू कार्यकर्ताहरूलाई अझ संगठित बनाउन, पार्टीलाई जनस्तरसँग अझै नजिक ल्याउन र संगठन विस्तारमा योगदान गर्न महत्वपूर्ण हुनेछन्।
नेकपा एमाले जोरायल गाउँपालिका कमिटीले अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारीहरू अघि बढाइसकेको जनाएको छ।



