
बेइजिङ, चीन — चीन भ्रमणमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चिनियाँ पक्षले असाधारण सम्मानका साथ स्वागत गरेको छ। चिनियाँ उपराष्ट्रपति हान झेङले पूर्वराष्ट्रपति भण्डारीको औपचारिक स्वागत गरेसँगै उनको भ्रमणका राजनीतिक कार्यक्रम, सुरक्षा व्यवस्था र आतिथ्य अत्यन्तै उच्चस्तरीय रहेको देखिएको छ।
पूर्वराष्ट्रपति भण्डारी आइतबार विहान ग्वान्झाओ प्रान्त हुँदै चीन पुगिन्। दासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले समेत स्वागत गरेका थिए। भण्डारी नेतृत्वको भ्रमण दललाई चीन सरकारले राजकीय आवास ‘दियाओथाई स्टेट गेस्ट हाउस’ मा राखेको छ, जुन विदेशी सरकार प्रमुख सरहको सुविधा हो।

भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङसहित चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछिन्। सोमबार अपराह्न लिउसँग विशेष भेटवार्ता तय भएको छ।

पूर्वराष्ट्रपति भण्डारी ‘छिमेकी देशका राजनीतिक दलहरूसँग चिनियाँ कम्युनिस्ट पार्टीको संवाद’ शीर्षक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुने छिन्। उक्त कार्यक्रममा इन्डोनेसिया, लाओस लगायतका वरिष्ठ नेताहरूको उपस्थिति पनि रहनेछ। समारोहमा नेकपा (एमाले) नेताद्वय रघुवीर महासेठ र कर्णबहादुर थापा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले समेत सम्बोधन गर्नेछन्।
मंगलबार भण्डारीले बेइजिङको ऐतिहासिक स्थलहरू तियानमेन स्क्वायर, माओत्सेतुङको समाधि हल र फरबिडन सिटीको भ्रमण गर्नेछिन्। सोही दिन उनको टोली गान्सु प्रान्ततर्फ प्रस्थान गर्ने कार्यक्रम छ।
गान्सु प्रान्तको डुनहुवाङ सहरमा बुधबार र बिहीबार विभिन्न विकास मोडलको अवलोकन हुनेछ। शुक्रबार उनले त्यहाँ आयोजित ‘सभ्यताहरूबीच आदान–प्रदान र पारस्परिक सिकाइ’ सम्बन्धी चौथो संवाद कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि भएर सम्बोधन गर्नेछिन्।
शनिबार उच्चगतिको रेलमार्फत जियायुगुआन सहरको भ्रमण गर्ने टोली आइतबार सिचुआन प्रान्तको छेन्दु पुग्नेछ। त्यहाँ पनि चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले उनीहरूको स्वागत गर्नेछन्। भ्रमणका क्रममा पूर्वराष्ट्रपतिलाई चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले अन्तर्वार्ता लिने कार्यक्रम रहेको छ।
यो भ्रमण नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको सन्दर्भमा भएको उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमण हो। चीनले मितव्ययी कूटनीतिको भावना अनुरूप केही प्रोटोकल परिवर्तन गर्दै पूर्वराष्ट्रपति भण्डारीलाई विशेष सम्मान प्रदान गरेको छ, जसले चिनियाँ पक्षको भण्डारीप्रतिको गहिरो सम्मान झल्काउँछ।



