
काठमाडौं । नेपालको समग्र हित र चौतर्फी विकासका लागि चीनको प्रत्यक्ष भूमिका अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा फ्रेन्डस अन क्लाउडले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी विज्ञहरूले चीनले कृषि, शिक्षा, प्रविधि, स्वास्थ्य, अनुसन्धान लगायतका क्षेत्रमा गरेको प्रगति नेपालका लागि पनि महत्वपूर्ण हुने औंल्याए।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री एवम् चीनका लागि नेपालका पूर्व राजदूत महेन्द्र पाण्डे, इतिहासविद् प्रा. डा. सुरेन्द्र केसी, परराष्ट्र विज्ञ डा. मनिता कुशी तथा क्लाउडका अध्यक्ष शोभित उप्रेतीले विचार व्यक्त गरेका थिए।
पूर्व परराष्ट्रमन्त्री पाण्डेले हाल विवादमा आएको लिपुलेक प्रकरणमा प्रधानमन्त्रीले सुझबुझपूर्ण ढंगले कदम चाल्नुपर्नेमा जोड दिए। उनले आसन्न चीन र भारत भ्रमणमा अनुकूल वातावरण बनाएर दुवै मुलुकसँग परिणाममुखी वार्ता गर्नुपर्ने सुझाव दिए। पाण्डेले चीनका विश्वविद्यालयहरूले अनुसन्धानलाई उच्च प्राथमिकता दिएको उदाहरण दिँदै नेपालका विश्वविद्यालयहरू पनि त्यसैअनुसार अघि बढ्नुपर्ने धारणा राखे।
इतिहासविद् प्रा. डा. केसीले नेपालको सुरक्षाको ढाडस नै चीन रहेको टिप्पणी गर्दै दुई देशबीचको ऐतिहासिक सम्बन्ध अंशुवर्मा, भृकुटी र अरनिको कालदेखि नै जोडिएको र आज राजनीतिक तथा जनस्तरमै बलियो बन्दै गएको बताए। उनले विगतमा भारतभन्दा नेपालको चीनसँगको सम्बन्ध मजबुत रहेको समेत दाबी गरे। साथै, चीनलाई संयुक्त राष्ट्रसंघको सदस्य बनाउन नेपालले निर्वाह गरेको भूमिकाको स्मरण पनि गरे।
फ्रेन्डस अन क्लाउडका अध्यक्ष उप्रेतीले आर्थिक रूपमा चीन विश्वकै पहिलो शक्ति बन्ने अवस्थामा पुगेको तर नेपाल भने साना–साना कुरामा अल्झिरहेको दुःख व्यक्त गरे। उनले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा हुनु गौरवमय उपलब्धि भएको बताउँदै चीनको उन्नतिबाट लाभ लिन ढिलो गर्नु नहुनेमा जोड दिए।



