
प्रश्न १: राजनीतिक परिवर्तन भए पनि जनतामा निराशा किन बढ्दो छ?
उत्तर:
२०६२/०६३ को जनआन्दोलनपछि राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै जनताले ठूलो आशा गरेका थिए। तर, सत्तामा पुगेकाहरू जनमुखी भन्दा पनि पदमुखी बने।
शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सुशासनजस्ता सेवा र सुविधाहरू जनताले अझै पनि पूर्ण रूपमा प्राप्त गर्न सकेका छैनन्।
सत्ता–केन्द्रित राजनीति, भागबन्डा, कार्यकर्तामुखी नीतिहरू र भ्रष्टाचारका कारण राजनीतिक परिवर्तनको सुगन्ध अनुभूति गर्न सकिएको छैन, जसले जनतामा गहिरो मोहभंग निम्त्याएको छ।

प्रश्न २: देशमा अवसरको कमीले नेपाली युवा किन दिनदिनै विदेशिन बाध्य छन्?
उत्तर:
देशमा सीपअनुसारको रोजगारी छैन। कृषि र उत्पादन क्षेत्रमा युवा आकर्षित हुने वातावरण छैन। सरकारी योजनाहरू पहुँचवालालाई मात्र लक्षित छन्, सामान्य युवाले अनुभव गर्ने सास्ती भनेको बेरोजगारी र निराशा हो।
विदेशमा सानो काम गरे पनि मेहनतको मूल्य पाइन्छ, आफ्ना श्रम र दक्षता बेचेर घरपरिवार पाल्न सकिन्छ।
देशमै अवसर सिर्जना नहुँदा, युवाले आशाभन्दा विदेश रोज्न थालेका छन्। यो पलायन केवल आर्थिक होइन, आस्थाको संकट पनि हो।
प्रश्न ३: समृद्ध नेपाल निर्माणमा राजनीतिक नेतृत्व स्वयं किन बाधक बनेको छ?

उत्तर:
राजनीतिक नेतृत्व परिवर्तनसँगै मूल्य–मान्यता र चरित्र पनि बदलिनुपर्थ्यो। तर, जनताको सेवाभन्दा आफ्नो गुट र सत्ताको स्थायित्वमा ध्यान दिइयो।
जनप्रतिनिधिहरू नीति निर्माणभन्दा पनि ठेक्कापट्टा, जागिर सिफारिस र भ्रष्ट गठबन्धनमा बढी संलग्न देखिन्छन्।
उनीहरू जनतालाई जवाफदेही बन्नु पर्ने ठाउँमा आफ्ना कमजोरी ढाकछोप गर्न मिडिया नियन्त्रण, भ्रम फैलाउने रणनीति अपनाउँछन्।
यसै कारणले नेतृत्व स्वयं समृद्धिको बाधक बन्न पुगेको छ।
प्रश्न ४: राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर उकासिन नसक्नुको कारण के हो?
उत्तर:
संविधानले प्रत्याभूत गरेका शिक्षा, स्वास्थ्य, रोजगारी र समानताको अधिकार व्यवहारमा लागू हुन सकेका छैनन्।नीतिहरू कागजमा मात्रै सिमित छन्, कार्यान्वयन गर्नुपर्ने संयन्त्रहरू कमजोर छन्।
जनप्रतिनिधिले आफ्नो सीमित घेराभित्र सुविधा बाँडफाँटमा ध्यान दिन्छन्, सार्वजनिक हितभन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिन्छन्।
त्यसैले राजनीतिक परिवर्तन भए पनि जनताको दैनिकी उस्तै छ—संघर्षपूर्ण, अवसरविहीन र निराशाजनक।
निष्कर्ष:
राजनीतिक परिवर्तनले संरचना बदलेको हो, तर सोच, कार्यशैली र जनताप्रतिको उत्तरदायित्व अझै उस्तै छ।
जनताले देखेको समृद्धिको सपना दिन–प्रतिदिन झिनो बत्तीझैँ टाढिँदैछ।
यदि शासन प्रणालीमा पारदर्शिता, जवाफदेहिता, निष्ठा र क्षमता नआएमा –युवा पलायन अझ बढ्नेछ,राजनीतिक प्रणालीप्रतिको विश्वास घट्नेछ,र समृद्ध नेपालको सपना सधैं सपना मात्रै बनिरहनेछ।



