
काठमाण्डौ – जेनजी आन्दोलनका क्रममा परेका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमै फिर्ता गरेको छ।

गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको छानबिन गर्न सरकारले गठन गरेको आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार सो जाहेरी आयोगको कार्यक्षेत्रभित्र नपर्ने भएकाले जिल्ला प्रहरी परिसर काठमाण्डौमै फिर्ता गरिएको हो।
यसअघि उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाण्डौमा परे पनि प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो। आयोगले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा फौजदारी घटनाको विस्तृत अनुसन्धान, तहकिकात र अभियोजन कार्य आफ्नो अधिकारक्षेत्रमा नपर्ने स्पष्ट गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “आयोगलाई घटनाका भौतिक र मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, त्यसका कारण र प्रभावबारे अध्ययन गरी प्रतिवेदनसहित सुझाव पेस गर्ने, साथै घटनासम्बन्धी निवेदन वा सूचना संकलन र विश्लेषण गरी आवश्यक राय दिने कार्यादेश दिइएको छ।”



