
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले देशमा राजनीतिक अनिश्चितता टार्न समयमै चुनाव अनिवार्य भएको औँल्याइन्। राष्ट्रपतिको पहलमा शुक्रबार आयोजित सर्वदलीय बैठकमा उनले सबै राजनीतिक दललाई निर्वाचनमा सक्रिय सहभागिताको आग्रह गरेकी छन्।

बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्, “मितिमा चुनाव नभए देश अप्ठ्यारो अवस्थामा पर्न सक्छ। अहिले नै जिम्मेवारीपूर्वक निर्णय गर्नुपर्छ।” उनले आफ्नो सरकारले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरिन्।
तर, अधिकांश दलका नेताहरूले हालको सुरक्षा र राजनीतिक अवस्था चुनावका लागि पर्याप्त नभएको चिन्ता व्यक्त गरे। उनीहरूले राजनीतिक गतिविधि सञ्चालनमा कठिनाइ र सुरक्षा निकायको कमजोर स्थिति जस्ता समस्याहरू औँल्याए।
प्रधानमन्त्री कार्कीले सुरक्षासम्बन्धी सबै तयारी पूरा भइरहेको र कुनै कमी नहुने प्रतिवद्धता जनाइन्। बैठकको अन्त्यमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक वातावरण सामान्य बनाउन र दलबीच विश्वासको माहोल सिर्जना गर्न सुझाव दिएका छन्।



