
डोटी, साउन १७ – डोटीको जोरायल गाउँपालिका–४ देउथलाका स्थानीयवासीले समाजमा बढ्दो मदिरा सेवन, जुवा–तास तथा त्यसबाट निम्तिने सामाजिक विकृति नियन्त्रणका लागि महत्वपूर्ण र स्वागतयोग्य निर्णय गरेका छन्। स्थानीयवासी, जनप्रतिनिधि, नेपाल प्रहरी, आमा समूह तथा विभिन्न सरोकारवालाको संयुक्त भेलाले मदिरा बिक्री–वितरण बन्द गर्ने, जुवा–तास नियन्त्रणलाई कडाइका साथ लागू गर्ने तथा गाउँलाई क्रमशः मदिरा निषेधित क्षेत्र घोषणा गर्ने अभियान अघि बढाउने निर्णय गरेको हो।
आइतबार अप्सरा आमा समूहकी अध्यक्ष ज्ञानुदेवी रानाको संयोजकत्वमा बसेको भेलाले शारदा क्षेडाल साउँदको संयोजकत्वमा ९ सदस्यीय मदिरा तथा जुवा–तास नियन्त्रण समिति गठन गरिएको छ।

बैठकले देउथलामा सञ्चालन हुँदै आएका मदिरा बिक्री गर्ने दुईवटा पसलको अनुमति वडा कार्यालयले खारेज गरेको जानकारी दिँदै ती पसलमा रहेको सम्पूर्ण मदिरा साउन २० गतेभित्र हटाइसक्नुपर्ने निर्णय गरेको छ। स्थानीय अगुवा योसोदा मल्लका अनुसार तोकिएको समयभित्र मदिरा हटाइएमा राम्रो हुने र अन्यथा प्रहरी प्रशासनले मदिरा जफत गर्ने निर्णय गरिएको छ।
सामाजिक अनुशासन कायम गर्न बैठकले आर्थिक जरिवानाको व्यवस्था पनि गरेको छ। निर्णयअनुसार मदिरा सेवन गरी हल्ला–होहल्ला गर्ने व्यक्तिलाई दुई हजार रुपैयाँ, मदिरा ओसारपसार तथा बिक्री–वितरण गर्नेलाई तीन हजार रुपैयाँ र मदिरा बिक्री–वितरण गराउनेलाई पाँच हजार रुपैयाँ जरिवाना गरिनेछ। त्यसैगरी जुवा–तास खेल्नेलाई दुई हजार रुपैयाँ र खेलाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ। एउटै कसुर दोहोरिएमा दोस्रो पटक दोब्बर र तेस्रो पटक तेब्बर जरिवाना तिराइने व्यवस्था गरिएको छ।

भेलामा वडा अध्यक्ष नन्दराज भट्ट, वडा सदस्य योगेन्द्र गुरुङ, स्थानीय समाजसेवी चित्र भट्ट, नरबहादुर कपड्याल, ईलाका प्रहरी कार्यालय जोरायलका प्रमुख प्रहरी नायब निरीक्षक पदम बहादुर साउँद, सम विकासका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
वडा अध्यक्ष नन्दराज भट्टले मदिरा तथा जुवा–तासका कारण समाजमा विभिन्न सामाजिक विकृति, घरेलु हिंसा र आपराधिक गतिविधि बढ्दै गएकाले यस्ता कार्य नियन्त्रण गर्न समुदाय आफैँको सक्रिय सहभागिता आवश्यक रहेको बताए। समुदायले गरेको निर्णय कार्यान्वयनमा वडा कार्यालयले पूर्ण सहयोग गर्ने र सामाजिक सुधारको अभियानलाई निरन्तर अघि बढाइने उनको भनाइ थियो।
त्यसैगरी अप्सरा आमा समूहकी अध्यक्ष ज्ञानुदेवी रानाले परिवार, समाज र भावी पुस्तालाई मदिरा तथा जुवा–तासको दुष्प्रभावबाट जोगाउन अभियान सुरु गरिएको उल्लेख गरिन्। गाउँलाई मदिरा तथा जुवा–तासमुक्त, सुरक्षित र सभ्य समाजका रूपमा विकास गर्न सबै स्थानीयवासीको सक्रिय साथ, सहयोग र प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ।
केही दिनअघि मदिरा सेवनपछि भएको घरेलु विवादका क्रममा एक शिक्षकले आफ्नी श्रीमतीमाथि चिम्टाले आक्रमण गर्दा उनको मृत्यु भएको घटनापछि समुदाय सामाजिक विकृतिविरुद्ध थप एकजुट बनेको हो। उक्त घटनाले समाजमा मदिराजन्य दुष्प्रभावबारे गम्भीर बहस सिर्जना गरेपछि स्थानीयले सामूहिक रूपमा कडा निर्णय गर्दै सामाजिक सुधारको अभियानलाई अघि बढाएका हुन्।
स्थानीयवासीले यो अभियानलाई निरन्तरता दिँदै मदिरा, जुवा–तास तथा अन्य सामाजिक विकृतिमुक्त, सुरक्षित र अनुशासित समाज निर्माणमा सबै पक्षको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेका छन्।



