
डोटी। जोरायल गाउँपालिका–३ वडा कार्यालयले मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा कडाइ गर्ने निर्णय गरेको छ। शनिबार वडा कार्यालयमा मदिरा बिक्रीका लागि इजाजत लिएका व्यवसायी तथा सरोकारवाला निकायबीच भएको छलफलपछि मदिरा तथा सुर्तीजन्य पदार्थको नियमनका लागि विभिन्न निर्णय गरिएको हो।

वडाले १८ वर्षमुनिका बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न पूर्ण रूपमा रोक लगाएको छ। साथै, अभिभावकले समेत १८ वर्षमुनिका बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थ किनेर दिन वा पठाउन नपाउने निर्णय गरिएको छ।

त्यसैगरी, १८ वर्षभन्दा माथिका व्यक्तिलाई समेत मदिरा बिक्री–वितरणको समय तोकिएको छ। अब जोरायल–३ मा मदिरा साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्र बिक्री तथा वितरण गर्न पाइनेछ।
वडा कार्यालयका अनुसार निर्णयको उल्लंघन गर्ने तथा इजाजतबिना मदिरा बिक्री–वितरण गर्ने जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।
वडा कार्यालयले मदिरा तथा सुर्तीजन्य पदार्थको अनियन्त्रित बिक्री–वितरणबाट उत्पन्न हुन सक्ने सामाजिक विकृति तथा बालबालिकामा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न निर्णय कार्यान्वयनमा सबै व्यवसायी तथा सरोकारवालाको सहयोगकोलागी अपिल गरेको छ।



