डोटीको बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकाका १ हजार भन्दा बढी घरका नागरिकले वायुपंखी चुलो बाल्ने गरेको पाइएको छ । उन्नत चुलो बजारीकरण परियोजना आधुनिक वायुपंखी चुलो कार्यक्रमको वार्षिक प्रगति समीक्षा गोष्ठीमा दुई पालिकाका १ हाजर ५६ घरका नागरिकले वायुपंखी चुलो प्रयोग गरिरहेको बताइएको छ ।
आस्था नेपालद्वारा सञ्चालित टिटिसीएम परियोजना वायुपंखी चुलो कार्यक्रम अन्तर्गत अनुदानमा करिब तीन हजार रुपैयाँमा चुलो उपलब्ध गराउँदै आएको सो कार्यक्रमका कलस्टर फिल्ड अफिसर योगेन्द्र कठायतले बताउनुभयो। वायुपंखी चुलाको प्रयोग गर्दा धुवाबाट बच्न सकिने दाउरा कम प्रयोग हुने समयको बचत हुने हुँदा पालिकाका सबै घरहरूमा वायुपंखी चुलो उपलब्ध गराउने योजना रहेको कार्यक्रमका फिल्ड सहायक योसदा कुमारी मल्लले बताउनुभयो।
कार्यक्रममा सहभागीहरूले वायुपंखी चुलो राम्रो भएपनि गाउँघरमा अझै पनि झन्झेट मान्ने हुँदा उनीहरूलाई बुझाउन जरुरी रहेको बताएका थिए।
सो परियोजनाले सुदूरपश्चिम प्रदेशका चारवटा जिल्ला डोटी, डडेलधुरा, बैतडी र अछामका पाँच वर्षमा करिब ७५ हजार घरधुरीमा वायुपंखी चुलो पुर्याउने लक्ष्य रहेको परियोजनाले जनाएको छ।