
काठमाडौं – साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाल र भुटानबीच भएको खेल गोलरहित बराबरीमा टुंगिएको छ। आजको खेलमा नेपालले भुटानमाथि निरन्तर दबाब कायम राखे पनि गोल गर्न असफल भयो।

नेपालले पहिलो हाफमै गोल गर्ने केही सुनौलो अवसर पाए पनि ती अवसरलाई गोलमा परिणत गर्न सकेन। भुटानले दोस्रो हाफमा आफ्नो प्रदर्शन सुधार्दै खेलमा पकड जमाउन थालेको थियो। नेपालले पटक-पटकको प्रयास असफल भएपछि अन्ततः भुटानसँग अंक बाँड्न बाध्य भयो।

समूह बी मा रहेको नेपाल र भुटानले समान अंक बाँड्दा, आजकै अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोड्न सफल भयो। यसअघि समूह ए को खेलमा भारतले पाकिस्तानलाई हराएको थियो।
अब नेपालले सेमिफाइनल प्रवेशका लागि अर्को खेलमा जित निकाल्नुपर्ने दबाबमा छ।



