
डोटीको प्रसिद्ध दुत्ते मेला भोलि कार्तिक १७ देखि १९ गतेसम्म तीन दिनसम्म आयोजना हुने भएको छ।डोटीको जोरायल गाउँपालिका–४, सिलिङ्गिबागमा रहेको चडेउला देवताको थानमा हुने दुत्ते मेलामा धार्मिक तथा ऐतिहासिक बाजागाजा सहितको चौलो भोस्सो नाच संग संगै देउडा खेल सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।


मेला व्यवस्थापन समितिका अनुसार कार्तिक १७ गते दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म लाइभ देउडा कार्यक्रम सञ्चालन हुनेछ। साँझ ४ बजेदेखि राति १२ बजेसम्म बाजागाजा र चौलो नाचको साथ सानो देउरो प्रस्तुति दिइनेछ। भाइटीकाको दिन, कार्तिक १८ मा दिउँसो १२ बजेदेखि चौलो नाच र देउरो चड्यौली थानमा आयोजना हुनेछ। यस दिनको मुख्य कार्यक्रम चड्यौली थानमा हुनेछ। अन्तिम दिन, कार्तिक १९ मा बिहान ३ बजेदेखि ८ बजेसम्म भोस्सो देउरो सहित चौलो समूहलाइ सम्मान र बिदाइ कार्यक्रम गरिनेछ।


मेला व्यवस्थापन समितिका सचिव मरिचमान खड्काका अनुसार, यो मेला जोरायल क्षेत्रको ऐतिहासिक महत्व बोकेको धार्मिक र सांस्कृतिक चाड हो, जसलाई जरासन्ध राक्षसको अन्त्यको स्मृतिमा मनाइन्छ। हरेक वर्ष विभिन्न देवता र देवीहरूको गाथा तथा चौलो नाच प्रस्तुत गर्न स्थानीयवासीहरू यस मेलामा सहभागी हुने गर्दछन्।यश मेलाको अबलोकन गर्न छिमेकी जिल्ला बाट समेत मानिस आउने गर्दछन ।

तीन दिनसम्म आयोजना हुने यस मेलालाई व्यवस्थित गर्न बिगत केही वर्षदेखि मेला व्यवस्थापन समिति र स्थानीय सरकारले सहकार्य गर्दै आइरहेका छन्।मेला आयोजकले शान्ति र अनुशासन कायम राख्न मेला अवधिमा जुवा खेल्ने, रक्सी सेवन गर्ने लगायतका गतिविधि नगर्न सबैमा अनुरोध गरेका छन्। जोरायल क्षेत्रको सांस्कृतिक र धार्मिक महत्व बोकेको यो मेला तिहारको अवसरमा प्रतेक बर्ष विशेष हर्ष उल्लासका साथ मनाइन्छ।



