प्रदीप सिंहको सम्झनामा दोस्रो पटक आयोजित “प्रदीप सिंह स्मृति कप – २ क्रिकेट प्रतियोगिता” खप्तड रंगशाला, राजपुर डोटीमा सफलता पूर्वक सम्पन्न भएको छ। प्रतियोगिता कार्तिक ०९ गते देखि शुरू भएको थियो, जसको उद्घाटन दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख कलावती साउँद (महर) ले गर्नुभएको थियो भने समापन प्रमुख अतिथि नगर प्रमुख बाजी सिंह खड्का (विजय) ले गर्नुभएको थियो।
समापन समारोहमा विशिष्ट अतिथि शिखर नगरपालिकाका नगर उपप्रमुख सुनिता रावल (जोरा), के.आई. सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही र अन्य प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजक रोयल राजपुर क्रिकेट क्लब (R.R.C.C) का अध्यक्ष नरेश बहादुर खातीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए।
दर्शकको उत्साहजनक उपस्थिति बिच भएको फाइनल खेलमा दिपायल सिलगढी नगरपालिका ०५ ले शिखरलाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ। फाइनल खेलमा शिखरले पहिलो इनिङमा १४.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो। दिपायल सिलगढी नगरपालिका ०५ ले १२.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। निर्णायक क्षणमा जगदीश कुमार बोगटीले चौका प्रहार गर्दै टिमलाई जित दिलाए।
विजयी टिम दिपायल सिलगढी नगरपालिका ०५ ले रु. १ लाख ११ हजार १ सय ११ नगद र ट्रफी जित्यो भने द्वितीय स्थान हासिल गरेको शिखरले रु. ५१ हजार १ सय ११ नगद र ट्रफी प्राप्त गर्यो। दिपेन्द्र मल्लले फाइनलमा ५५ रन बनाएर र ३ विकेट लिदैं “म्यान अफ द म्याच” बने। उनले प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गर्दै “म्यान अफ द सिरिज”को उपाधी समेत जितेर नगद रु. ४ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
“बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट” आयोजक “बी” टिमका आयुष खड्का बने, जसले रु. २ हजार ५सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र जिते। आयुषले प्रतियोगितामा शतक बनाउन प्रयास गरेतापनि क्वार्टरफाइनलमा ९४ रनमा आउट भए। “बेस्ट बलर अफ द टुर्नामेन्ट” शिखरका पुष्कर बलायर भए, जसले रु. २ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसरी प्रतियोगिता खप्तड रंगशालामा सफलतापूर्वक सम्पन्न भएको थियो।खेलको प्रत्यक्ष प्रसारण अठोट खबरले गरेको थियो ।