
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीकेदार धाममा आगामी कार्तिक २७, २८, र २९ गते भव्य मेला लाग्ने भएको छ। डोटी जिल्लाको बडीकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको सङ्गम स्थलमा रहेको बडीकेदार धाममा दुई दिन मेला र अन्तिम दिन पूजन कार्य सम्पन्न हुनेछ।
बडीकेदार क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्र राज सिराडीका अनुसार कार्तिक २७ र २८ गते मेला लाग्ने र कार्तिक २९ गते विशेष पूजन आयोजना हुनेछ। धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्त्व बोकेको यस तीर्थस्थलमा दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेकोले हजारौँ भक्तजनहरू यहाँ आउने गर्छन्।


बडीकेदार धाममा मेला लाग्ने समयभन्दा केही दिनअगावैदेखि श्रद्धालुहरू आस्था प्रकट गर्न यहाँ पुग्छन्। उनीहरू कथा बाचन, विवाह, व्रतबन्ध, र मुन्डनजस्ता धार्मिक कार्यहरू सम्पन्न गर्छन्। २८०० मिटरको उचाइमा रहेको यो स्थलमा तराईका थारु समुदाय तथा भारतका विभिन्न ठाउँबाट पनि भक्तजनहरूको उपस्थिति रहने गर्दछ।
स्थानिय किंवदन्तीअनुसार, परापूर्वकालमा एक गाईले बडीकेदार शिलामा दूध चढाएको देखेर यहाँ पूजाआजा गर्न थालिएको हो। यसै किंवदन्तीका कारण प्रत्येक वर्ष कार्तिक चतुर्दशीका दिन यहाँ विशेष पूजन हुने परम्परा छ।
बडीकेदार धाममा कैलालीको सहजपुर हुँदै डोटीको बिपी नगर, खँड्यौली बजार हुँदै अत्तरकाडासम्म सवारी साधनमार्फत पुग्न सकिन्छ। अत्तरकाडाबाट पैदल करिब सवा एक घण्टाको यात्रा पछि बडीकेदार धाम पुग्न सकिन्छ।



