‘ऐतिहासिक परिदृश्यमा जोरायल ! …..

लक्ष्मी सरस्वती साधारणसभा
पुन्ना तालिम केन्द्र

✍️  कवि  निर्मल कुमार भण्डारी (गोदावरी नगरपालिका -४ कैलाली )

जिल्ला वन डोटी

तेले दक्षिण तर्फ सुन्दर छ यो – भू–भाग जोरायल,
लाम्चो सम्थर रुपमा धरणि यो – शोभिन्छ भै उज्ज्वल ।
चौतर्फी गिरि–कन्दारा रमित छन् – अग्ला र होचा कति,
पालेका वन–बृक्ष सुन्दर अहा ! सौन्दर्यका सम्पत्ति ।।
।।१।।
तेलेबाट बगे यहाँ नद दुई – यी गोमती– काफली,
जस्ले अघ्र्य चढाउछन् हरघडी – चण्डेश्वरैका थली ।
चन्कट्टे तल भेट भै द्वय नदी – दोभानमा मिल्दछन्,
त्यो भन्दा तल एक भैकन सधैं – भूगोल यो सिंच्दछन् ।।
।।२।।
कर्नासा भनि नाम बोलिन गयो – दोभान भन्दा तल,
यौटा नाद सुसेल्छ शान्त रसको – बग्दा नदी कल्कल ।
बग्छिन् सौम्य र उग्रतासित कतै – यी नागबेली बनी,
फल्ने बास्मति धान खेतहरुकी – हुन् दिव्य सञ्जीवनी ।।
।।३।।
यो हो आदिम ऐतिहासिक थलो – गाथा परापूर्वको,
यस्को संरचना छ द्वापरयुगी – गाथा छ है गर्व को ।
यो ठाउँ उहिल्यै थियो जलमयी – मैदान वेसी तिर,
पाण्डवले जल यो निकास गरदा – बस्ती बस्यो आँखिर
।।४।।
यो हो बास–प्रवास गुप्त अघि कै – राक्षस् जरासन्धको,
पाण्डवले जल यो निकास गरदा – त्यो दैत्य देखा पर्यो ।

मारे पाण्डव बन्धुले छल गरी – त्यस्लाई दोभानमा,
जोरायल भनेर नाम हुन गो – त्यै दैत्य बस्दा यहाँ ।।
।।५।।
कर्नासा अपवित्र मानिन गइन् – दोभान भन्दा तल,
श्री गुल्मेश्वर स्थान देखि तलको – मानिन्छ चोखो जल ।
नङ्यौठी जलको निकास पथ हो – साक्षी अँझै त्यो छ है,
योे जोरायलको पुरातन कथा – मानिन्न मिथ्या कतै ।।
।।६।।
चन्कट्टे तिर भीमछेदन शिला – देखिन्छ जो सत्य छ,
त्यो चौडेस्थलमा छ पाण्डव गुफा – प्रारुप त्यो प्रष्ट छ ।
श्री गुल्मेश्वरमा प्रमाण छ अझै – पीठो मुछेको शिला,
गाथा हैन बनावटी किसिमको – हो सत्यको श्रृङ्खला ।।
।।७।।
गर्दा यज्ञ जगत्तडी शिखरमा – ज्वाला उठ्यो अग्निको,
त्यै ज्वालासित शक्तिको छवि बनी – आकार क्यै देखियो ।
ज्वाला रुप थिइन् यसै धरणिकी – ति शैलवाला पनि,
चन्कट्टे शिरमा विराजित भइन् – आराध्य देवी बनी ।।
।।८।।
श्री चण्डेश्वरको समुद्भव भयो – त्यै शैलको फेदमा,
यो हो प्राकृत फुटलिंङ्ग शिवको – उत्पन्न भो खेतमा ।
श्री चण्डेश्वर–पार्वती–गणपति – छन् साथमा सोभित,
तिन्कै ओज र शक्तिले धरणि यो – देखिन्छ संरक्षित ।।
।।९।।
चौतारो पनि एक निर्मित थियो – त्यो द्रौपदी नामको,
ऐले छैन नि हाटमा विगतको – निर्माण नै नासियो ।
छन् है देवल–कोट–मन्दिर–गुफा – जोरायली भेगमा,
तिन्को रक्षण गर्नु पर्दछ सबै – छन् हेर के–के कहाँ ?
।।१०।।
आफ्नो संस्कृति सभ्यताहरु भुले – अस्तित्व नासिन्छ है,
मास्छौं आज भने पुरातन कुरा – पैचान मासिन्छ है ।
हामी सन्तति हौ यसै धरतिका – जन्मी यहीं मर्नु छ ,
आफ्ना भूतलका निमित्त सबले – केही यहाँ गर्नु छ ।।
।।११।।
हाम्रो संस्कृति सभ्यता छ गतको – यै कर्मनासा सित,
हाम्रो मौलिक मान्यता छ युगकै – यै कर्मनासा सित ।
हाम्रा पीर–विषाद–हर्ष जतिछन् – यै कर्मनासा सित,
हाम्रो जीवन सम्पदा छ सबको – यै कर्मनासा सित ।।
।।१२।।
हामीले यस ठाउँको प्रगतिमा – केही गरेनौ भने,
हाम्रा यी इतिहास पूर्व दिनका – रक्षा गरेनौ भने ।
मेटिन्छन् इतिहास है विगतका – वास्ता गरेनौ भने,
बन्छौ फेरी यहाँ न घाट–घरका – कल्ले यहाँ सम्झने ।।
।।१३।।
जन्मी चेतन मानवी स्वरुपमा – केही यहाँ गर्नु छ,
आफ्नो आदिम सभ्यता विगतको – राम्रो सधैं पार्नु छ ।
आफ्नो नाम निशान प्रेरक बनी – जानु छ छोडीकन,
मान्छे हो अमरत्व आर्जन गरी – देदिप्य तारा बन ।।
।।१४।।
लेख्यो स्कन्दपुराणले सबकुरा – भूगोलको भेग को,
लेख्यो मानस खण्डले सब बुझी – गाथा यसै क्षेत्रको ।
यस्को सार रहस्य बुझ्न नसके – जम्मै कुरा व्यर्थ छ,
जस्ले बुझ्दछ ऐतिहासिक कुरा – त्यो सत्य हो भन्दछ।।
।।१५।।

भेटनरी डोटी नयाँ
खप्तड बिकास बोर्ड सन्देश
समाजिक विकास कार्यालय
Leave A Reply

Your email address will not be published.