
डोटीको जोरायल गाउँपालिका–४ कुँडिकोटमा रहेको श्री घण्टेश्वर माध्यामिक विद्यालयका शिक्षक लालबहादुर खड्काले ३७ वर्षको लामो सेवा र समर्पणपछि समाजको हितका लागि उदाहरणीय कदम चालेका छन्। प्राथमिक तहका विद्यार्थीहरूलाई ज्ञान प्रदान गर्दै आएको आफ्नो जीवनभरको शिक्षण यात्रामा खड्काले धेरैलाई प्रेरित गर्नुभएको छ। अब, उहाँले आफ्ना दिवंगत पिता श्री डम्बरबहादुर खड्का र आमा श्रीमती कुमारी देवी खड्काको सम्मान तथा सम्झनामा छात्रवृत्ति अक्षयकोष स्थापना गरेर थप एक महत्वपूर्ण योगदान दिनुभएको छ।

हिजो मंगलबार खड्काले रु १लाख११ हजार १ सय ५० को बैंक चेक विद्यालय व्यवस्थापन समितिलाई एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो। यो कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदायका अगुवा व्यक्तिहरूको उपस्थिति थियो। खड्काको यस कार्य र योगदानको सबैले खुलेर प्रशंसा गरेका छन।

विद्यालयका सहायक प्रधानाध्यापक मीन बहादुर रोकायका अनुसार यो सहयोगले आर्थिक रुपमा कमजोर र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिबाट लाभान्वित गराउनेछ। यसले विद्यार्थीहरूलाई पढाइमा अझ बढी प्रेरित गर्ने र शिक्षा प्रति समाजको सकारात्मक दृष्टिकोणलाई सुदृढ बनाउने विश्वास लिइएको छ।
खड्काको यस प्रेरणादायी कदमले स्थानीय र राष्ट्रिय स्तरमा शिक्षाको महत्वलाई पुनः उजागर गरेको छ। विद्यालय परिवारले खड्का र उहाँको परिवारप्रति गहिरो सम्मान र कृतज्ञता व्यक्त गर्दै अन्य व्यक्तिलाई पनि समाजमा सकारात्मक योगदान गर्न प्रेरित गराएको छ। यस्ता उदाहरणीय कार्यहरूले समाजमा शिक्षाको महत्व बढाउने र भावी पुस्तालाई सहयोग र दानको संस्कारप्रति सचेत बनाउने अपेक्षा विद्यालयले गरेको छ।



