

काठमाडौँ – पुर्वेली संस्कार र संस्कृति बोकेको मौलिक लोकभाका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ। यो गीतमा गायिका मेनुका राईको सुमधुर स्वर सुन्न सकिन्छ। गीतकार चन्द्र जयपाल राईको शब्द रचनामा आधारित यो गीतलाई बसन्त सापकोटाले संगीतबद्ध गर्नुभएको छ।
गीतमा पूर्वेली माया–पिरतीको कथा प्रस्तुत गरिएको छ। मागी विवाह र भगाइ विवाहका बीच हुने रोमान्टिक संवादलाई दोहोरी शैलीमा झल्काइएको छ।
गीतको भिडियो विक्रम डिसीले छायांकन गर्नुभएको हो भने मनोज कार्कीले सम्पादन गरेका छन्। चर्चित कलाकार विल्सन विक्रम राईको निर्देशनमा बनेको भिडियोमा विल्सन विक्रम राई, एलिसा राई, र सोनाम तामाङको अभिनय तथा नृत्य देख्न सकिन्छ।
गीतको सार्वजनिक कार्यक्रममा गायिका मेनुका राईले “पुर्वेली संस्कार र संस्कृतिलाई जीवित राख्दै लोकभाका प्रस्तुत गरिएको” बताउनुभयो।
यस गीतले केवल मनोरञ्जन मात्र नभई पूर्वी पहाडी क्षेत्रमा प्रचलित संस्कार र संस्कृतिलाई समेटेर सांगीतिक माध्यमबाट दर्शकलाई सांस्कृतिक महत्वको सन्देश दिन खोजेको छ।



