
काठमाडौँ।दृष्टिविहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। पाकिस्तानको लाहोरमा आज भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो।
यसअघि, हिजो भएको खेलमा नेपालले अफगानिस्तानलाई एक सय आठ रनले हराएको थियो। लगातार जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ।


आजको खेलमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ८७ रनमा समेटियो। दक्षिण अफ्रिकाका ओपनर बुहले भिडलाले अविजित शतक प्रहार गरे पनि त्यो रन जितका लागि पर्याप्त साबित भएन।
पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा चार विकेट गुमाएर एक सय ९८ रनको चुनौती प्रस्तुत गरेको थियो। नेपालको लागि ओपनर नरेश चौधरीले सर्वाधिक ८० रन बनाए।
सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट भए भने, सुनिल मगर एक रनमा अविजित रहे।बलिङतर्फ दक्षिण अफ्रिकाका भिडलाले एक विकेट लिए।
नेपालको यो जितले आगामी खेलहरूमा राम्रो प्रदर्शन गर्नका लागि आत्मविश्वासको स्तरलाई थप उच्च बनाएको छ। यो जितसँगै नेपालका खेलाडीहरूका लागि आगामी सेमिफाइनलमा स्थान सुनिश्चित गर्ने बिश्वास गरिएको छ ।



