बगलेकको पहिचानलाई प्रोत्साहन गर्ने उद्देश्यले मिनि खप्तड स्पोर्ट्स क्लबद्वारा आयोजित भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा प्रथम पुरस्कार रु १ लख ५१ हजार १ सय ११, दोस्रो पुरस्कार रु ७५ हजार ५ सय ५५ र तृतीय पुरस्कार रु ३५ हजार रहेको छ। विजेता टोलीलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजक क्लबका प्रकाश ठकुल्लाले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्घाटन साइन नेपालका अध्यक्ष तथा सामुदायिक अभियन्ता भक्तराज जोशीले गर्नुभयो। उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, वडा अध्यक्ष योगेन्द्र ठकुल्ला र विभिन्न दलका नेताहरूको उपस्थिति थियो।
आयोजकका अनुसार यो प्रतियोगिता डोटी जिल्लामै अहिलेसम्मकै ठूलो धनराशिको पुरस्कार रहेको हो। प्रतियोगितामा पूर्वी चौकी गाउँपालिका, शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, सायल गाउँपालिका, आदर्श गाउँपालिका, केआई सिंह गाउँपालिका, बोगटान गाउँपालिकालगायत क्षेत्रहरूबाट टिमहरूको सहभागिता रहेको छ। देश तथा विदेशमा रहेका बगलेकप्रेमी दाजुभाइहरूको सहयोगले प्रतियोगिता सम्भव भएको आयोजकले बताएका छन्।
प्रतियोगिता सुरु भएसँगै बगलेक क्षेत्रमा चहलपहल बढेको छ। स्थानीय होटलहरू खचाखच भरिएका छन् भने प्रतियोगिताले आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्न थप योगदान दिएको छ। प्रतियोगितालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन अठोट खबर मार्फत प्रत्यक्ष प्रसारण गरिएकोले दर्शकको उल्लेख्य घुइँचो लागेको छ।
आयोजकका अनुसार प्रतियोगिताको व्यवस्थापनमा करिब ८.५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। पहिलो पटक बगलेकको मनोरम वातावरणमा आयोजित यस भलिबल प्रतियोगिताले बगलेकलाई खेलकुद र पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।