

✍️बमबहादुर मल्ल,(गो.न.पा.२, उत्तर बनखेत,
अत्तरिया, कैलाली)
सेती अञ्चल डोटी जिल्ला, जोरायल गाउँपालिका,
कति सुन्दर रहेका छन् झलमल्ल गाउँ ती कसा ?
माथि छ छहरा तिर्थ, तल द्यौजाल देवता,
प्राकृतिक रचना भित्र, देखिन्छ त्यो सुरम्यता ।।
।।१।।
बीचमा बुडर गाउँ, दृश्यमा झल्झलापुर,
त्यसै ग्रामिणका ज्योति, थिए सुरत बहादुर ।
मल्लका कुलमा जन्मी, भए तिनी अजम्मर,
उहाँकै सम्झना हो यो, संक्षिप्त रचना कर ।।
।।२।।
उच्च घरानीया मल्ल, अग्रगामी विशारद,
जहाँपूर्व सभा हुन्थ्यो, त्यहाँ हुन्थ्ये सभाषद ।
देशमा प्रतिभाशाली, जिल्ला कै हुन् भलादिमी,
अञ्चलका मान्यता मूर्ति गाउँका श्रेष्ठथे उनि ।।
।।३।।
शिक्षामा उनले पूर्व, विद्या पढेथे वालकालमा,
जमानामा पढेका हुन्, गाउँका पाठशालामा ।
शास्त्री पण्डित जी सङ्ग आफ्नै घर बसीकन,
पढे गुणे सिके फेरि, पाए विद्या महाधन ।।
।।४।।
जहाँ जान्थे उहाँ मल्ल, ती स्वाध्यायन गर्दथे,
अनौपचारिकि विद्या लिएर ज्ञान भर्दथे ।
अध्यात्म ज्ञानमा ठूलो, उनी झुकाव राख्दथे
जहाँ अध्यात्मका ज्ञानी, उहाँ गएर पढ्दथे ।।
।।५।।
सरकारी नौकरी गर्थे, खरदार पदमा गई,
राष्ट्र सेवा गरे उन्ले , सधैं आदर्शमा रही ।
ससाना रचना गर्थे, थिए भावुकका धनी,
साहित्य कल्पना गर्थे, संग्रह लेख्दथे उनि ।
।।६।।
आफ्नो र देशको गाथा, यथासक्य समेट्दथे,
दैनिकी घटनालाई, सधैं रेकर्ड लेख्दथे ।
बुद्धिजीवी उनी जस्ता, त्यहाँ थिएन क्वै पनि,
विभिन्न कल्पना गर्थे, कलाप्रिय थिए उनि ।।
।।७।।
गुणी, ज्ञानी, स्वाभिमानी, सदा सद्भावका धनी,
बरु प्राण चलि जाओस्, सत्य त्याग्दैन थे उनि
दीन–दुखीहरु देखे, सहानुभूति गर्दथे,
निर्धाप्रति दया गर्न, उनका आँसु झर्दथे ।।
।।८।।
भोका, प्यासाहरुलाई, श्रद्धाले दान गर्दथे,
अतिथि घरमा आए, असाध्यै मान गर्दथे ।
हातमा ज्ञानको पात्र, मनमा ज्ञान मञ्जरी,
हृदयमा सुधाभाव राख्ने गर्थे थरी–थरी ।।
।।९।।
मस्तिष्क ब्रह्मको ज्योति, जिह्वाभित्र सरस्वती,
नेत्रमा प्रेमका आँसु, झर्दथे उनका अति ।
वाणी कोमलमा प्यारो, मिठो र मसिनो थियो,
त्यसैले मनमा उनको, साहित्य भाव उर्लियो ।।
।।१०।।
परन्तु के गरु आज, मेरा साना बयानले,
व्याख्या गर्न म सक्दिन, मेरा अत्यल्प ज्ञानले ।
उनका मनमा ठूलो, सत्य सत्भावना थियो,
त्यहि सत्य फली आज, धर्मको वल देखियो ।।
।।११।।
धर्मका बलले ज्ञानी, गुणी जन्मेर सु–सन्तति,
उनैका धर्मले आयो, गृहमा दिव्य सम्पति ।
उनि सन्देशमा भन्थे, धर्मै हो लोकमा धन,
धर्मैमा उनले आफ्नो, विताए श्रेष्ठ जीवन ।।
।।१२।।
उनको ज्ञान सुन्दामा, खुसिहुन्छ जति मन,
भन्दथे धर्म सन्देश, सुन्दथे सर्व सज्जन ।
सत्य सन्देस घन्कायी, घुम्दथे गाउँ–गाउँमा
सम्भाषण चलाएर, बताउथे समाजमा ।।
।।१३।।
विभिन्न प्रतिभाशाली, राष्ट्रसेवक थे उनि,
धैैर्य गम्भीरका साथ, बहु आयमका धनी ।
समाज–संघ–संस्थामा, सेवा गर्थे अघि सरी,
राष्ट्रिय भावना पोखी, सुनाउथे थरी–थरी ।।
।।१४।।
भाशा–कला र साहित्य, संस्कृति लाई मान्दथे,
धर्मपालनका साथै, सभामा न्याय गर्दथे ।
सभाका बिचमा बस्दै, गुण औं दोष छान्दथे
निष्पक्ष भाव दर्शाइ, निसाफ गर्न जान्दथे ।।
।।१५।।
ज्ञान विज्ञानका खानी, हिन्दुका धर्म भक्तथे,
मनोविज्ञानका ज्ञाता, ध्यायोगी प्रदिप्त थे ।
मनमा ज्ञान भण्डार, मुखमा प्रेम मञ्जरी,
धर्म सत्य सँगालेर, दर्शाउथे सधै भरी ।।
।।१६।।
गर्दथे घरमा नित्य, आध्यात्म ज्ञान साधना,
को चिन्थे देशमा फेरी, थिएन पारखी पना ।
राणा शासनका बेला, यस्ता शोषित देशमा,
दृष्टा–श्रष्टा दबिएका, कसले देख्दथे कहाँ ?
।।१७।।
कहिले पर्वती क्षेत्र, तराइ कहिले बसे,
जहाँ बसेपनि उनले, देश सेवा सधैं गरे ।
पहाड बुँडरबाट, तराई बिचवा गए,
थारु समाजमा ठूलो, जनप्रिय उनै भए ।।
।।१८।।
जमिन्दारी चलाएर, तराईमा बसेपनि,
कसैलाई सताएनन्, गरीब–हलिया भनी ।
त्यसैले मल्लजी नामी, लोकमान्य भए उनि,
उच्च बिचार राखेर – चन्दको क्षेत्रमा पनि ।।
।।१९।।
उनका साथी जिम्दार, प्रत्येक घरमा पुगे,
उनले धर्मका भित्र, दयाका भाव सुम्पिए ।
उदारता दया भित्र, राष्ट्रिय सम्पदा जति,
धर्मका कल्पना भित्र, सकियो द्रव्य थ्यो जति ।।
।।२०।।
तत्पश्चात् चिन्तना, गर्दै शिक्षाको भाव लीकन,
अर्ती–आदेश पाएर देखेर, सत्कर्ममा बिते दिन ।
जोरायल कुडिकोट, शिक्षा ज्योति जगाउन,
गरे संकल्प आत्मामा, विद्यापीठ बनाउन ।।
।।२१।।
तपस्या त्यागको उनको, ठूलो छ महिमा त्यहाँ,
व्यवस्था बिधि फैलाई, को गर्न सक्दथे यहाँ ।
उनले गृह त्यागेर साधुको भेष लीकन,
घुमे जिल्ला जिल्लामा, शिक्षाको ज्योति ल्याउन ।।
।।२२।।
विद्या संदेश घन्काई, पहाड गाउँ–गाउँमा,
फेरि कैलाली जिल्लाका, दौडे बिभिन्न ठाउँमा।
दानदाताहरु सँङ्ग, मनले प्रार्थना गरी,
चन्दा दान समेटेर, भर्दिए कोष मञ्जरी ।।
।।२३।।
जोरायल कुँडिकोट, श्री घण्टेश्वर बीचमा,
ठूलो त्याग तपस्या छ, मल्ल जीको अतीतमा ।
जहाँ गए उहाँ उन्ले, शिक्षाकै कल्पना गरी,
यही समाज सेवामा, बिताए जिन्दगी भरी ।।
।।२४।।
यसैगरी अरु ठाउँ, तथा बुडर ग्राममा,
शिक्षाको जग हालेर, गरे निर्माण सिर्जना ।
जो चार रोपनी जग्गा, श्रीरामपूर प्रा.वि.मा,
दान दिए त्यहाँ उन्ले, चम्क्यो शिक्षा प्रज्योतिमा ।।
।।२५।।
त्यही ज्योति बढी आज, उच्च मा.वि.मिल्यो फल,
अन्धकार हटाएर भया,े प्रकाश उज्ज्वल ।
त्यसैले मल्लको नाम, श्री स्वर्ण अक्षर अङ्कमा,
दानदाता भनी नाम, लेखी दिए भविष्यमा ।।
।।२६।।
त्यसैगरी अरु ठूला, योजना फाँट क्षेत्रमा,
खानेपानी तथा धारा, गाउँ–समाज भित्रमा ।
मल्लजीले यथासक्य, योगदान दिए तहाँ
त्यो सबै धर्मखातामा, लेखियो स्वर्ग लोकमा ।।
।।२७।।
बनाए कीर्तिको खात, आफू स्वर्लोकमा गए ,
यहाँ समाज साराको, प्रियपात्र तिनी भए ।
केही वर्ष बचे देखि, कीर्ति अन्य हुने थिए,
के गर्नु दैवको लीला, उनी स्वर्लोक भइगए ।।
।।२८।।
लेखा प्रारब्धको मेट्न, सकिदैन कसैगरी,
विधान विधिको यस्तो, चलेको छ सधैं भरी ।
यसै बसुन्धरा भित्र, कति आए कति गए,
सबैको कीर्ति देखिन्न, जसै आए उसै गए ।।
।।२९।।
मर्नेले जन्मनु पर्छ, जन्मने फेरी मर्दछ,
यसैले लोकमा आई, सुकार्य गर्नु पर्दछ ।
व्यास वशिष्ट त्य भन्छन्, यै भन्छ धर्म ग्रन्थले,
त्यागि सहिद यै भन्छन्, यै भन्छ शस्त्र मन्त्रले ।।
।।३०।।
यस्तै सन्देश दी पूर्व, मल्ल जी स्वर्गमा गए,
लोक कीर्ति फिजाएर, आत्ममा अमरै भए ।
मल्ल खान्दानमा ठूला, तिनि आदित्य ज्योति हुन्,
सबैले सम्झना गर्ने, यो क्षेत्रका विभूति हुन् ।।
।।३१।।
अन्तमा दिव्य आत्माको, शान्ति होस् दीव्य गाथमा,
श्रद्धाले गर्दछु आज, पुष्पाञ्जली सुकामना ।
उदायो शुक्र झैं तारा, उन्नैस सय छ्याहत्तर,
दुईहजार छयालिस साल आत्मा बन्यो अजम्बर ।।
।।३२।।
जोरायल गाउपालिका वाड नं २ मल्लो बुडर पिपल चौतारा निवासी स्व. खरदार सुरथ बहादुर मल्ल ज्यूको सम्झनामा लेखिएको ।


