
भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७८ को लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार, नयाँ व्यवस्थाअनुसार विद्यार्थीले जुन विषयमा एनजी आएको छ, त्यो विषयको मात्रै परीक्षा दिन पाउनेछन्। यो अवसर विद्यार्थीलाई तीन वर्षसम्म उपलब्ध हुनेछ।

कक्षा ८, १० र १२ मा सबै विषयमा अनिवार्य रूपमा सैद्धान्तिकतर्फ ‘डी’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनुपर्ने प्रावधान यसअघि नै लागू गरिएको छ। नियमित तथा ग्रेड वृद्धि परीक्षामा पनि कम्तीमा ‘डी’ ल्याउनुपर्ने नियम कायमै छ।
यस वर्षको कक्षा १० अन्तिम परीक्षा आगामी चैत ७ गतेदेखि सुरु हुनेछ। नयाँ व्यवस्थाले विद्यार्थीलाई आफ्नो कमजोर विषय सुधार गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।



