
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेलिरहेका डोटीका नरेन साउदलाई उनको गृहपालिका बडिकेदार गाउँपालिकाले नगद ३ लाख ५५ हजारसहित सम्मान गर्ने निर्णय गरेको छ।
आज सम्पन्न ६१औं कार्यपालिकाको बैठकले नरेनको उत्कृष्ट प्रदर्शन र गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन गरेको योगदानको कदर गर्दै यो सम्मान दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भैरब साउदले जानकारी दिनुभयो।


डोटीको दुर्गम दक्षिणी क्षेत्रमा पर्ने बडिकेदार गाउँपालिका-३, घाङगल ओखलढुंगामा जन्मिएका साउद सुदूरपश्चिम रोयल्सका लागि २ लाख रुपैयाँमा अनुबन्ध भएका हुन्। एनपीएलको खेलमा नरेनले एकै खेलमा सर्वाधिक ५ विकेट लिदै चर्चा बटुलेका थिए।
सानै उमेरमा बुवाको निधन भएका नरेनकी आमा शिक्षिका हुनुहुन्थ्यो। आर्थिक कठिनाइका बावजुद नरेनले आफ्नो मेहनत र लगनशीलताका बलमा क्रिकेटमा उच्च स्थान बनाएका छन्।
पालिकाले दुर्गम क्षेत्रबाट जन्मिएर खेलमार्फत डोटीको नाम उजागर गरेको भन्दै नरेनलाई यस सम्मान प्रदान गर्न लागेको हो। हाल नरेनको बसोबास धनगढीमा रहेको छ। मेहनतले दुर्गम क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरसम्मको सफलता हासिल गर्न सकिन्छ भन्ने प्रमाण नरेन साउद बनेका छन्।



