
सायल गाउँपालिका वडा नं ४ का तीन दाजुभाइले शिक्षाको क्षेत्रमा प्रधानाध्यापकका रूपमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। सामान्य परिवारमा जन्मिएका नेत्र राज जोशी, तीर्थ राज जोशी र पुष्पराज जोशीले आफ्नो मेहनत, समर्पण र लगनशीलताबाट शिक्षा क्षेत्रमै उच्च स्थान प्राप्त गरेका छन्।
जेठा नेत्र राज जोशी सायल गाउँपालिका वडा नं ५ मा रहेको ओम आधारभूत विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । घरायसी समस्या र आर्थिक अभावका कारण कक्षा ७ मा पढाइ छोड्न पुगेका नेत्र राजले दुई वर्षपछि पुनः आफ्नो अध्ययनलाई निरन्तरता दिएर नेपाली विषयमा स्नातकोत्तर पूरा गर्नुभएको छ। लामो समयदेखि यस विद्यालयमा शिक्षण गरिरहनुभएका नेत्र राज विद्यालयको शैक्षिक सुधार र नेतृत्व क्षमताका लागि प्रख्यात हुनुहुन्छ।

माइला तीर्थ राज जोशी जनता जनार्दन माध्यमिक विद्यालयका प्रधानाध्यापकका रूपमा कार्यरत हुनुहुन्छ। पाठ्यक्रम विषयमा स्नातकोत्तर गरेका तीर्थ राजले शिक्षण क्षेत्रमा दुई दशकभन्दा बढी समय योगदान पुऱ्याउँदै विद्यालयको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।
कान्छा पुष्पराज जोशीले आदर्श गाउँपालिका वडा नं ४ मा रहेको प्रभात माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको छ। अंग्रेजी विषयमा स्नातकोत्तर गरेका पुष्पराजले यो पदमा पहिलो पटक नियुक्त भएर आफ्नो दक्षता र नेतृत्व क्षमताको प्रमाण दिनुभएको छ।
तीनै दाजुभाइको यो यात्रा सामान्यत: शिक्षा क्षेत्रको एउटा उत्कृष्ट प्रेरणादायी उदाहरण हो। उनीहरूले कठिनाइ र चुनौतीहरूको सामना गर्दै शैक्षिक सफलताको शिखरमा पुगेर परिवार र समुदायलाई गर्वित बनाएका छन्। उहाँहरु केवल शिक्षण क्षेत्रमा मात्रै नभएर ज्योतिष विज्ञानमा पनि पोख्त रहेको तथ्यले उहाँहरूको व्यक्तित्वलाई अझै रोचक बनाएको छ।
सायल गाउँपालिकाका यी तीन दाजुभाइको सफलता केवल व्यक्तिगत मात्र नभई सिंगो समुदाय र नयाँ पुस्ताका लागि मार्गदर्शक बनेको छ।


