

✍️कवि निर्मल कुमार भण्डारी ,बास्कोटा कैलाली
हुस्सू–बादल छेक्छ दिप्त सविता– लाई बिनाकारण ।
धर्ती यो सब अन्धकारमय भो – बिग्रेर दैनन्दिन ।
जाड़ो विघ्न बढ्यो असह्य सितले – हावा चल्यो सर्सर ।
बाक्लो यो कुहिरो प्रसारित भयो– सर्वत्र धर्तीभर ।।
।।१।।
देखिन्नन् सविता कुनै समयमा – या प्रातमा साँझमा ।
साँच्चै प्रातः र साँझ दोपहर भो – न्यास्रो दिवा झैं यहाँ ।।
देखिन्छन् सब अस्त–व्यस्त दुनियाँ – बिग्य्रो सबैको लय ।
अल्पे सूर्य अदृश्य भै गगनमा – नित्तान्त ज्योतिर्मय ।।
।।२।।
ठण्डीयाम तराईका धरणिमा – हुस्सू यसै लाग्दछ ।
झण्डै पौष र माघसम्म यसले – दिक्दार नै पार्दछ ।।
मर्छन् मानिस शीतका लहरले – छैनन् लुगा साधन ।
आगो ताप्न न दाउरा छ घरमा – अन्यौल भो जीवन ।।
।।३।।
के–को कारण हो तराइँ भरमा – आतङ्क यो हुस्सुको ।
मान्छे कारकतत्व हो कि निजकै – दुष्कार्यको दोष हो ।।
वायू दूषित भै बढ्यो कित कुनै – हो दैवको यातना ।।
ठण्डीमा अब बस्न मुश्किल भयो – लौ हेर ! यो क्षेत्रमा ।।
।।४।।
मान्छे दोहन गर्दछन् धरणिको – रित्याउँदै सम्पदा ।
मान्छे रक्षक हैन भक्षक भयो – यो भूमिको सर्वदा ।।
मान्छे ध्वंशक हो धरित्रि तलमा – आतङ्क सिर्जाउँछ ।
धर्ती रुष्ट बनाइ स्वर्गसरिको – उल्लास के पाउँछ ।।
।।५।।
यो धर्ती छ सदैव सभ्यपनको – सानन्द औ सुन्दर ।
यो धर्ती छ सदैव भव्यपनको – देवात्मको मन्दिर ।।
मान्छे गर्दछ मन्परी निशिदिवा – यो सृष्टिका फाँटमा ।
आफ्नै कर्तुतले मनुष्यहरु यी – पर्छन् नि आघातमा ।।
।।६।।


