
सायल गाउँपालिकाको पहिचान झल्काउने म्युजिकल डकुमेन्ट्री “सायलको चिनारी” सार्वजनिक
डोटी — सायल गाउँपालिकाको कला, संस्कृति, भेषभूषा, पर्यटन तथा मौलिक पहिचानलाई समेटिएको म्युजिकल डकुमेन्ट्री लोक डेउडा गीत “सायलको चिनारी” बिहीबार सार्वजनिक गरिएको छ।
सायल गाउँपालिकाको सहयोग तथा नजर मिडिया प्रा.लि. डोटीको व्यवस्थापनमा तयार पारिएको उक्त गीत गायक प्रेम नेपाली को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि धर्मराज जोशी ले ब्यानर वाचन गर्दै भिडियो प्रदर्शनमार्फत गीतको औपचारिक विमोचन गरेका थिए । दिउँसो १ बजेदेखि गीत युट्युबमार्फत सार्वजनिक गरिएको जानकारी नजर मिडिया प्रा.लि.का समाचार प्रमुख एवं गायक प्रेम नेपालीले दिएका छन्।

विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले सीमित लगानीमा निर्माण गरिएको “सायलको चिनारी” म्युजिकल डकुमेन्ट्रीले सायल क्षेत्रको रीतिरिवाज, चाडपर्व, भेषभूषा, कृषि, पर्यटन तथा स्थानीय जीवनशैलीलाई उत्कृष्ट ढंगले चित्रण गरेको बताए । उनले यस्ता सिर्जनाले स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले सायल गाउँपालिकाभित्र रहेका मौलिक धार्मिक तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै कलाकारलाई प्रोत्साहन गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सांस्कृतिक कार्यक्रमलाई गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
गीतमा प्रेम नेपाली को शब्द, लय तथा स्वर रहेको छ भने गायिका गौरी भट्ट ले स्वरमा साथ दिएकी छन् । गीतको एरेञ्ज बिनोद बाजुराली ले गरेका हुन् भने रेकर्डिङ सागर बाजुराली ले गरेका छन् । त्यस्तै, मिक्सिङ तथा मास्टरिङ खडक बाजुराली ले गरेका हुन्।
मालश्री रेकर्डिङ स्टुडियो मा तयार गरिएको उक्त गीतको छायाङ्कन सायल गाउँपालिकाका सबै ६ वटै वडामा गरिएको थियो। म्युजिकल डकुमेन्ट्रीको निर्देशन भिम थापा ले गरेका हुन् भने छायाङ्कन अमृत उपाध्याय ले गरेका छन् ।
भिडियोमा टेक बिष्ट, भिम थापा, अनु खड्का लगायतको अभिनय रहेको छ । मेकअप बबिता बोहरा ले गरेकी छन् भने भिडियो सम्पादन, कलरिङ तथा मिक्सिङ प्रविण रेश्मी मगर ले गरेका हुन् । भिडियो खप्तड फिल्मस् को पोस्ट प्रोडक्सनमा तयार पारिएको छ । भिडियो हेर्नको लागिhttps://youtu.be/LGq_Yh4NsHE?si=o_5d1UOkn9AD8sK5



