
डोटी। डोटी बहुमुखी क्याम्पसको प्रमुखमा सहप्राध्यापक दिलानन्द जोशी पुनः नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालयको छनोट तथा सिफारिस समितिको सिफारिसमा कार्यकारी परिषद्को निर्णयले जोशीलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।

आइतबार त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गर्दा डोटी बहुमुखी क्याम्पसको नेतृत्वमा पुनः जोशीलाई चयन गरेको हो।
जोशी यसअघि पनि क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए। अघिल्लो कार्यकालमा उनले क्याम्पसको भौतिक संरचना र व्यवस्थापनमा महत्वपूर्ण सुधार र परिवर्तन ल्याएका थिए। उनको नेतृत्वमा क्याम्पसले शैक्षिक वातावरणमा गुणात्मक सुधार गर्दै विद्यार्थी र कर्मचारीका लागि सकारात्मक परिवर्तन गरेको थियो।
डोटी बहुमुखी क्याम्पसको प्रगति र शैक्षिक गुणस्तर उकास्न योगदान दिँदै आएका जोशीको दोहोरिएको नेतृत्वले क्याम्पसलाई अझ सुदृढ र प्रगतिशील बनाउने विश्वास गरिएको छ।


