
कैलाली – प्रवासमा रहँदै बालबालिकाको शिक्षामा निरन्तर सहयोग गर्दै आउनु भएका सरला श्रेष्ठ र अम्मर क्षेत्रीले कैलालीको गौरीगंगा नगरपालिका-३, कुचैनीस्थित शिव नमुना आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार करिब ५० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिद्ध कडेँलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) विशेष अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै जोशीले शिक्षा सबैका लागि आवश्यक रहेको र आर्थिक अभावका कारण कोही पनि पछाडि पर्न नहुनेमा जोड दिनुभयो।
विपन्न बालबालिकाको शैक्षिक यात्रा सहज बनाउन प्रदान गरिएको यो सहयोगले विद्यार्थीहरूलाई थप प्रोत्साहित गर्ने विश्वास गरिएको छ। उक्त सहयोगको समन्वय हेमा श्री फाउन्डेसन नेपालकी कोषाध्यक्ष लक्ष्मी बोगटीले गर्नुभएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिद्ध कडेँलले प्रवासबाट निरन्तर रूपमा सहयोग पुर्याउने सरला श्रेष्ठ र अम्मर क्षेत्रीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो।



