
काठमाडौँ। आगामी चैत ७ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) का लागि अधिकांश जिल्लामा प्रश्नपत्र पठाइसकिएको छ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेलका अनुसार काठमाडौँ बाहेकका सबै जिल्लामा प्रश्नपत्र वितरण सम्पन्न भइसकेको छ। उनका अनुसार मधेश र बागमती प्रदेशका केही जिल्लामा आज प्रश्नपत्र पठाइएको छ भने अन्य जिल्लामा पहिल्यै पुगिसकेको छ।
यस वर्षको एसईई परीक्षाका लागि देशभरबाट ५ लाख २२ हजार विद्यार्थीले आवेदन दिएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ४ लाख ६८ हजार, ग्रेड वृद्धिका लागि ५० हजार (२०७९-८०) र पुराना ग्रेड वृद्धिका लागि ४ हजार (२०७८-७९) विद्यार्थीले फारम भरेका छन्।
देशभरका २ हजार १३१ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुनेछ। यद्यपि, आवश्यकताअनुसार केही परीक्षा केन्द्रमा थपघट हुन सक्ने सम्भावना रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।



