
डोटी — डोटीको जोरायल गाउँपालिका–४ स्थित सिराड गाउँ आजबाट धुवाँमुक्त गाउँ भएको छ। ग्रामीण जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले Livelihood Funds को आर्थिक सहयोग तथा Practical Action र आस्था नेपालको साझेदारीमा ४६ घरधुरीमा आइतबार बायुपंखी चुलो वितरण गरिएको हो।

आस्था नेपालकी सामुदायिक परिचालक यशोदा मल्लका अनुसार, बायुपंखी चुलोले घरभित्र धुवाँको असर हटाउनुका साथै इन्धनको खपत घटाउने,महिला दिदीबहिनीको समयको बचत हुनुको साथै स्वास्थ्यमा सुधार ल्याउने र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

प्रति चुलोको एकाइ लागत रु ६ हजार ३ सय २५ पर्ने भए पनि त्यसमा रु ३ हजार ७ सय आस्था नेपालको अनुदान रहेको थियो। बाँकी रु २ हजार ६ सय २५ उपभोक्ताले व्यहोर्नुपर्ने भए पनि उक्त रकम मध्ये जनसेवा सामुदायिक वन उपभोक्ता समूहले रु २ हजार र उपभोक्ता स्वयंले रु ६ सय २५ मात्रै तिरेको बन उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र गुरुङले जानकारी दिए।
स्थानीय बासिन्दाहरूले बायुपंखी चुलो प्राप्त भएपछि खुसी व्यक्त गर्दै वातावरणमैत्री प्रविधिले जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।



