
काठमाडौ –आइसिसी विश्वकप लिग–२ अन्तर्गत मंगलबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गर्दै महत्वपूर्ण जीत हासिल गरेको छ।
नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा पाँच विकेटको क्षतिमा सफलतापूर्वक पूरा गर्यो। नेपालको जितमा आरिफ शेखले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ७८ रनको योगदान दिए। उनले ९९ बलमा सात चौका र दुई छक्का प्रहार गरे।
त्यसैगरी, उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा तीन चौकासहित अविजित ३८ रन बनाए। आरिफ र दीपेन्द्रबीच पाँचौँ विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी भएको थियो।

ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रन, कप्तान रोहित पौडेलले ३९ बलमा २३ रन तथा अर्का ओपनर आसिफ शेखले २२ बलमा १९ रन बनाए। भीम सार्की ११ रनमा आउट भए।
बलिङतर्फ नेदरल्यान्ड्सका माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले एक/एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ ओभरमा २२५ रन बनाएको थियो। उसका लागि नोहा कोर्सेले ५५ बलमा पाँच चौकासहित ४८ रन बनाए। कप्तान स्कट एडवार्डसले ७१ बलमा ४६ रन, विक्रमजित सिंहले ३८ रन तथा ज्याक लायनले २७ रनको योगदान दिए।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान रूपमा दुई–दुई विकेट लिए।
यस जितसँगै नेपालले लिग–२ अन्तर्गत १४ खेलमा १० अङ्क जोडेको छ र सातौँ स्थानमा यथावत् रहेको छ। पराजित नेदरल्यान्ड्स भने २१ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा कायम छ।


