
डोटी, – डोटी जिल्लाको जोरायल गाउँपालिका–२, छतिवन नजिकै रहेको धार्मिक तथा पर्यटकीय महत्वको छतिवन झरनामा पछिल्लो समय आन्तरिक तथा सीमावर्ती भारतीय पर्यटकहरूको उल्लेखनीय आकर्षण देखिएको छ। प्राकृतिक सौन्दर्य, शीतल पानीको झरना, हरियाली वातावरण र धार्मिक आस्थाको समिश्रणले यो झरनालाई अहिले एक प्रमुख गन्तव्यस्थलको रूपमा स्थापित गराइरहेको छ।
विशेष गरी तराईको गर्मी छल्न, प्रकृतिको आनन्द लिन, बनभोज खान, रमाइलो गर्न र झरनाको सौन्दर्य अवलोकन गर्न सयौं पर्यटकहरू दैनिक रूपमा झरनातर्फ आकर्षित भइरहेका छन्। डोटी,कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला लगायतका जिल्लाहरूका साथै भारतको पलिया, खटीमा, लखिमपुर, बरेली जस्ता सीमावर्ती क्षेत्रहरूबाट समेत पर्यटकहरू झरना पुग्ने गरेका छन्।
छतिवन झरनासम्म पुग्नका लागि कैलालीको अत्तरिया बजारबाट करिब दुई घण्टा र भिमदत्त राजमार्गअन्तर्गत पर्ने बुडर बजारबाट झण्डै बीस मिनेटको पक्की सडकमार्ग प्रयोग गर्न सकिन्छ। सडक पहुँच सजिलो भएपछि यो झरना तराई तथा पहाडका मानिसहरूको रोजाइमा पर्ने प्रमुख एकदिने घुमघाम गन्तव्य बनेको छ।
पछिल्लो समय झरनाको समुचित व्यवस्थापन तथा पूर्वाधार विकासमा सरकारको विशेष चासो देखिएको छ। यहाँ पर्यटकहरूको आवश्यकतालाई ध्यानमा राखी कपडा फेर्ने घर, प्रतिक्षालय, स्वच्छ खानेपानीका धारा, सिँढी, शौचालय तथा बाटोको स्तरोन्नति गरिएको छ। यसले पर्यटकलाई थप सहजता प्रदान गर्नुका साथै झरनाको आकर्षणमा गुणात्मक वृद्धि भएको छ।

झरनामा आइपुगेका अधिकांश पर्यटकहरू रमाइलो गर्दै फोटो खिच्ने, पानीमा नुहाउने, बनभोज खाने, धार्मिक स्थलमा पूजाआजा गर्ने र शान्त वातावरणमा समय बिताउने गरेका छन्। प्राकृतिक रूपमै लोभलाग्दो यस स्थलमा विशेषगरी हप्ताको शनिबार तथा बिदाका दिनहरूमा पर्यटकको चाप अत्यधिक हुने गरेको छ।
स्थानीय प्रतीक्षा ओलीले छतिवन झरनामा घुम्न गएको अनुभव सुनाउँदै भनिन्, “झरनामा पुग्दा लाग्छ, प्रकृतिले हामीलाई दिएको अमूल्य उपहार यही हो। चिसो पानीले तनमन दुबै शीतल बनाउँछ। बाटो राम्रो छ, बस्ने ठाउँहरू बनेका छन्, साथीभाइसँग रमाइलो गर्नको लागि झरनाजस्तै ठाउँ अरू कमै होला।”
धार्मिक दृष्टिले समेत महत्त्वपूर्ण मानिने छतिवन झरनामा विभिन्न पर्व तथा अवसरमा श्रद्धालुहरू पूजाआजा गर्न आउने गर्छन्। यस्तो प्राकृतिक स्रोत र आस्थाको संगमस्थलको प्रवर्द्धनले न केवल स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको छ साथै गाउँपालिकाको पर्यटन पहिचान विस्तारमा समेत टेवा पुगिरहेको छ।
सजिलो पहुँच, बढ्दो पूर्वाधार, धार्मिक आस्था र प्राकृतिक शान्तिको समिश्रणले छतिवन झरना डोटी जिल्लामै नभई सुदूरपश्चिम प्रदेशको उदीयमान पर्यटकीय गन्तव्य बन्ने सम्भावना बढिरहेको छ। संरक्षण, प्रचारप्रसार र व्यवस्थित व्यवस्थापनका उपायहरू थप प्रभावकारी रूपमा लागु गर्न सकिएमा यहाँको पर्यटनले दीगो स्वरूप लिने निश्चित देखिन्छ।
तस्बिर :- पदम बुढामगर छहरा फोटोग्राफर



