
अत्तरिया, असार २९-
आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा आज भव्य कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमको सुरुआत बिहान ८ बजे प्रभातफेरीबाट गरिएको थियो। आदिकवि भानुभक्त आचार्यको तस्वीरलाई विशेषरूपमा सजाइएको टेम्पोमा राखी प्रसिद्ध कविता वाचक सरु गुरागाईंको स्वरमा रामायणको वाचन गर्दै अत्तरिया बजार परिक्रमा गरिएको थियो। प्रभातफेरीमा सुदूरपश्चिमको मौलिक पञ्चेबाजा र हुड्केली नाचको आकर्षक प्रस्तुति सहित बिहान ८:४५ बजेसम्म बजार परिक्रमा गरिएको थियो।
उक्त प्रभातफेरीमा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट, वडा नं. १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट, वडा नं. ३ का अध्यक्ष तेजराज अवस्थी, प्रतिभा पुस्तकालयका अध्यक्ष तथा सदस्यहरू, आजीवन सदस्य तथा दाताहरू, पाठक वर्ग, स्थानीय विद्यालयका शिक्षक–विद्यार्थी, पृथ्वीनगर आमा समूहकी अध्यक्षसहित महिला सदस्यहरू, जनप्रतिनिधि, बुद्धिजीवी, कलाकार, कर्मचारी तथा सर्वसाधारण गरी करिब ३सय जनाको उपस्थिति रहेको थियो।

प्रभातफेरीपछि प्रतिभा सामुदायिक पुस्तकालयको सभाकक्षमा अन्तर–माध्यमिक विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न गरिएको थियो। कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्ट तथा वडा नं. ३ का अध्यक्ष तेजराज अवस्थीको उपस्थिति रहेको थियो।
कार्यक्रमको शुभारम्भ संस्थाका उपाध्यक्ष यज्ञराज हमाल योगेन्द्रको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि वरिष्ठ साहित्यकार तथा पुस्तकालय सल्लाहकार समिति सदस्य निर्मलकुमार भण्डारीले आदिकवि भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो। उपस्थित अतिथिहरूले भानुभक्त आचार्यको तस्वीरमा दीप प्रज्वलन, चन्दन तथा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।
कक्षा ९ र १० मा अध्ययनरत ११ जना विद्यार्थीबीच कविता वाचन प्रतियोगिता सञ्चालन गरिएको थियो। निर्णायक मण्डलमा डोटी क्याम्पसका पूर्व सह–प्राध्यापक तीर्थराज जोशी, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका सह–प्राध्यापक पदम प्रकाश साउँद तथा साहित्यकार निर्मलकुमार भण्डारी रहनुभएको थियो।
कविता प्रतियोगितामा श्री सत्यवती एकेडेमी, अत्तरिया (कक्षा १०) का विद्यार्थी रमेश ओझा प्रथम भएका छन्। उनले नगद २१ सय रुपैयाँ पुरस्कार प्राप्त गरे। श्री दुर्गालक्ष्मी नमुना मा.वि., अत्तरिया (कक्षा १०) की सन्ध्या अवस्थीले दोस्रो स्थान प्राप्त गर्दै १६ सय रुपैयाँ प्राप्त गरिन् भने गोदावरी पब्लिक स्कूल, अत्तरिया (कक्षा ९) की रजनी ऐर तेस्रो भइन् र उनले ११ सय रुपैयाँ पुरस्कार पाइन्। सान्त्वना पुरस्कार स्वरूप श्री सिद्धबाबा मा.वि., गेटी (कक्षा ९) की भुमेश्वरी मडैले ६ सय रुपैयाँ प्राप्त गरिन्।कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव राजबहादुर कडायतले गर्नुभएको थियो।



