
२०८२ साउन ११, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिका–२ मा अवस्थित बगलेक पछिल्लो समय आन्तरिक पर्यटकको मुख्य गन्तव्य बन्दै गएको छ। जिल्ला सदरमुकाम सिलगढी, दिपायललगायत बाह्य जिल्लाबाट आउने पर्यटकको रोजाइमा बगलेक पर्न थालेको दिपायल सिलगढी नगरपालिका–५ का पूर्व वडाध्यक्ष मदन भण्डारीले जानकारी दिनुभयो।
कामको व्यस्तता वा विभिन्न कारणले खप्तडसम्म पुग्न नसक्नेहरूका लागि बगलेक उपयुक्त विकल्पका रूपमा विकसित भएको छ। स्थानीय भीम ठकुल्लाका अनुसार, “यहाँ दैनिकजसो पर्यटक आइरहन्छन्, शनिबार झन् भीड नै लाग्छ।”
सुदूरपश्चिम प्रदेश सरकारले सदरमुकामबाट बगलेकसम्मको सडक कालोपत्रे गरेपछि अब बगलेक आधा घण्टाको गाडी यात्रामै पुग्न सकिने भएको छ। त्यही कारणले दैनिक दुई सयभन्दा बढी आन्तरिक पर्यटक बगलेक पुग्ने गरेका छन्।

विकासका नयाँ संरचना बनेपछि केही भारतीय पर्यटकहरू पनि बगलेक पुग्ने गरेका छन् भन्ने जानकारी दिपायलका पदम खड्काले दिनुभयो।
पूर्वीचौकी गाउँपालिकाका स्थानीय जनकबहादुर खड्काका अनुसार, परिवार तथा साथीभाइसँग पिकनिक खान, रमाइलो गर्न र गर्मी छल्न बगलेक उपयुक्त गन्तव्य बनेको छ। खप्तड जाने मूल बाटोमा अवस्थित बगलेकको भौगोलिक बनावटले खप्तडको झल्को दिने भएकाले यसलाई ‘मिनी खप्तड’ को उपमा समेत दिइन्छ, भनी दिपायल सिलगढीका नवराज नेपालीले बताउनुभयो।
बगलेक घुम्न पुगेकी पार्वती खड्काले यहाँको विकासका लागि स्थानीय र प्रदेश सरकारलाई धन्यवाद दिँदै, पर्यटकीय क्षेत्रको रूपमा थप व्यवस्थित बनाउन सरसफाइ र जनचेतनाको खाँचो रहेको बताउनुभयो।
सदरमुकाम सिलगढीबाट झण्डै १५ किलोमिटर दूरीमा रहेको बगलेकमा हरियाली पाटन, घोडा सवारी, बनभोज, र स्थानीय उत्पादन—जस्तै आलु, मकै, निहुँरोलगायतका वस्तुहरूको स्वाद लिन पाइन्छ। साथै, छेउमै रहेको पोखरी तथा सुलभ घोडा सवारी सेवाका कारण पछिल्ला दिनमा बगलेक पर्यटनको चर्चामा रहेको खप्तड पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेमराज जोशीले बताउनुभयो।



