
साउन ३१, चौमाला कैलाली –
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ, गौरीगंगा नगरस्तरीय संयोजकमा अर्जुन बम सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। बम नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता मात्र नभई तरुणदलका नेतासमेत हुन्।
कैलालीको राजिपुरमा सम्पन्न भेलाले खेलकुद क्षेत्रमार्फत पार्टीमा निरन्तर योगदान पुर्याउँदै आएका बमलाई निर्विरोध नेतृत्वको जिम्मेवारी दिएको हो।

नवगठित नगर कार्यसमितिमा उपाध्यक्षमा योगेश थापा, सचिवमा शेरबहादुर देउबा, सह–सचिवमा रामचन्द्र चौधरी र कोषाध्यक्षमा चन्द्रा बम सर्वसम्मत चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सुभाष देउबा, जगत सापकोटा, विराज सुनार, विशाल रावल, गोपाल रावल, मानबहादुर साँउद, नारायण सुनार र दिपेन्द्र कठायत रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस गौरीगंगा नगर सभापति पहल विक्रम चन्दले लोकतान्त्रिक खेलकुद संघले संगठनलाई अझ सशक्त र गतिशील बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले यस संघमार्फत पार्टीलाई बलियो बनाउन सकिने बताए।
त्यस्तै, नगर सचिव हेमन्त बाजेले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलाडी तथा खेलप्रेमीको विशेष भूमिका रहेको उल्लेख गर्दै नेपाली कांग्रेसले खेल क्षेत्रलाई सधैँ उच्च प्राथमिकता दिने बताएका छन्।



